सर्लाहीमा अपरिचित समुहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेका छन्।
शनिबार मध्यरातमा सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर १ मानपुरका ५२ वर्षीय होशनारायण राय यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।
भैंसी गोठमा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजे अपरिचित समुहले यादवको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।
आक्रमणपछि घरका सदस्यहरुले गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङगवामा राखिएको र घटना बारे गहन अनुसन्धान भइरहेको इप्रका बरहथवाका डिएसपी गोपिकृष्ण सुवेदीले बताए।
मृतकका जेठा छोरा सुवास कुमार यादवले आफ्ना बुवा अत्यन्तै नरम स्वभावका व्यक्ति रहेको र कसैसँग कुनै विवाद नभएको बताउँदै हत्याको कारण तथा संलग्न व्यक्तिबारे अनुमान गर्न समेत कठिन भएको प्रतिक्रिया दिएका छन्।
हत्यामा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ७ असार २०८३ १३:०९ आइतबार

