१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काका अनुसार बिहान करिब ४ः३० बजे कालाबन्जार–धरान सडक खण्डमा प्रदेश १–०१–०१८ प ७८९२ नम्बरको मोटरसाइकल सिमेन्टको कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनापछि मोटरसाइकल करिब ३४ फिट तल पैनीको नालामा खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–८ बरगीका ३० वर्षीय मनिस बस्नेतको मृत्यु भएको सूचना अधिकारी खड्काले बताए। प्रहरीका अनुसार मृतक बस्नेतको दाहिने गालामा गहिरो चोट लागेको अवस्थामा पैनीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो। स्थानीयले ठूलो आवाज सुनेपछि प्रहरीचौकी भरौलमा खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०८३ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App