कपिलवस्तुको शिवराज नगरपालिका–५, दक्षिण रहटकोलस्थित सडकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो।
प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो। बिहीबार बिहान २:०७ बजे उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले चालक जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–५ बस्ने ३७ वर्षीय सूरज चौधरीलाई नियन्त्रणमा लिइएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेकाले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १४ श्रावण २०८३ ०७:५८ बिहीबार





