१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

अँधेरीमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २८ घाइते

दुर्घटनाको ‘हटस्पट’ मानिएको मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका ७ स्थित अँधेरी जोगीटोलमा शनिबार बिहान स्कुल बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ।

बिहान ८ः५० वजे भएको दुर्घटनामा परि बर्दिबास नगरपालिका बस्ने ५५ वर्षीय बिमलेशकुमार दत्तको निधन भएको हो।

महोत्तरीको गौशालास्थित दीप बोर्डिङ स्कुलको बा २ ख ६४६८ को बस सुनसरीको चतारास्थित बराहक्षेत्र तीर्थस्थलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटना भए लगत्तै स्थानीय संगम चोक अस्थायी प्रहरी बिटले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएकोमा उपचारकै क्रममा दत्तको ९ः५० बजे मृत्यु भएको हो।

घाइते भएका ११ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। महोत्तरीको गौशाला नगरपालिका २ की ३८ वर्षीया रसिलाकुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देशकुमार चौधरीलाई रिफर गरिएको हो।

बसमा सवार २८ जना घाइते भएका छन् भने चालक गौशाला नगरपालिका १० का २८ वर्षीय जीवन आलेसहित ३ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। चालकलाई संगम चोक प्रहरी बिटमा राखेर अनुसन्धान भइरहेको छ।

मदन भण्डारी लोकमार्गको सबभन्दा बढी दुर्घटना हुने ठाउँ भएकाले अँधेरी क्षेत्रले ‘दुर्घटनाको हटस्पट’ नाम पाइसकेको छ। बारम्बार दुर्घटना हुने गरेकाले सो ठाउँलाई लक्षित गरी विगत ३ महिनायता सुरक्षित सवारी यात्रा गराउन स्थानीय अभियन्ताहरूले ‘शुभ यात्रा’ अभियान चलाउँदै आएका छन्।

उदयपुरगढी ८ नेपालटारकी अभियन्ता रमा मगरको अगुवाईमा ३ महिनायता निरन्तर चल्दै आएको सुरक्षित यात्रा अभियानले दुर्घटना लगभग शून्यमा झरेको थियो । तर, आज सो सडकमा पहिलो पटक यात्रा गर्ने बस भएकाले दुर्घटना हुन पुगेको अभियानको साझेदार जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

केही दिन यता अभियानलाई त्यहाँबाट पूर्वी भेगको सडकतर्फ चलाउन थालेकाले त्यहाँ फेरि दुर्घटना हुन पुगेको अभियन्ता मगरले बताएकी छिन्। ‘हामीले अभियान थालेयता एउटै दुर्घटना भएको थिएन’ मगरले भनिन् ‘विगत ३÷४ दिनदेखि हामी मदन भण्डारी लोकमार्गकै पूर्वीभेगतर्फ केन्द्रित भइरहेका छौँ, त्यै बेला पहिलो पटक हिँडेको चालक भएर दुर्घटना भएको हुनसक्छ।’

प्रकाशित: ६ असार २०८३ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App