पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस क्षेत्रमा तेल बोक्ने ट्याङकर र मालबाहक डिब्बा ट्रक एकआपसमा ठोक्किँदा दुई जना चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ सवा ६ बजे बजेको समयमा मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको तेल ट्याङकर र विपरीत दिशातर्फ जाँदै गरेको ना.५ ख.७७७५ नम्बरको मालबाहक डिब्बा ट्रक पावरहाउस नजिक आपसमा ठक्कर खाई दुर्घटना भएको हो।
दुर्घटनापछि दुवै सवारी साधन घटनास्थलमै रोकिएका थिए भने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण पृथ्वी राजमार्गको उक्त खण्डमा दुवैतर्फ सवारी आवागमन प्रभावित भएको छ।
घटनालगत्तै प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको थियो। हाल सडक खुलाउने तथा सवारी व्यवस्थापन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा तेल ट्याङकर चालक लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–९ का ४३ वर्षीय हरि बहादुर घर्ती रहेका छन्। उनको दायाँ खुट्टामा सामान्य भित्री चोट लागेको बताइएको छ। यस्तै, मालबाहक ट्रकका चालक धादिङ जिल्ला नौबिसे नगरपालिका–८ का ३९ वर्षीय गौतम श्रेष्ठको दायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रकाशित: ९ असार २०८३ १९:३५ मंगलबार





