३० भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई सिएसआर विवरण बुझाउन ७ दिने अल्टिमेटम

फाइल तस्बिर।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र निर्माणाधीन तथा सञ्चालनमा रहेका ६ वटा ठूला जलविद्युत् आयोजनालाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सहित आयोजनाको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले मंगलबार साँझ एक सार्वजनिक पत्रमार्फत आयोजनाहरूसँग सम्बन्धित महत्वपूर्ण प्राविधिक, कानुनी तथा वित्तीय विवरण सात दिनभित्र पालिका कार्यालयमा अनिवार्य दाखिला गर्न पत्राचार गरेका हुन्।

पालिकाले २८५ मेगावाट क्षमताको तमोर इनर्जी प्रालि, १६६ मेगावाटको सुपर तमोर, ७७.५ मेगावाटको घुन्साखोला रेमिट, ७३.५ मेगावाटको सानिमा मिडिल तमोर, ७०.३ मेगावाटको सिम्बुवाखोला रेमिट र ३७.५ मेगावाटको तमोर-५ जलविद्युत् परियोजनालाई यस्तो निर्देशन दिएको हो।

गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार आयोजनाहरूले मुख्य ६ वटा शीर्षकमा विवरण बुझाउनुपर्नेछ। जसमा कञ्चनजङ्घा संरक्षण क्षेत्रले चर्चेको भूभाग, सरकारी, निजी तथा ऐलानी जग्गाको यथार्थ विवरण, आयोजनाका भौतिक संरचना पालिकाको मापदण्डअनुसार बने/नबनेको अवस्था तथा वार्षिक रूपमा पालिकालाई बुझाएको रोयल्टीको विवरण रहेका छन्।

यसैगरी ढुङ्गा, गिट्टी र बालुवा उत्खननका लागि सम्बन्धित निकायबाट लिएको अनुमतिपत्र, सामाजिक उत्तरदायित्व (सिएसआर) बापतको सम्झौता र भुक्तानी विवरणका साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), इआइए र आइइई प्रतिवेदनको एक-एक प्रति गाउँपालिकामा बुझाउन भनिएको छ।

प्राकृतिक स्रोत-साधनको उपयोगमा पारदर्शिता कायम गर्न यस्तो कदम चालिएको अध्यक्ष लिम्बूले जानकारी दिए। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘फक्ताङलुङको जल, जमिन र प्राकृतिक स्रोत केही सीमित व्यक्ति वा संस्थाको मात्र सरोकारको विषय होइन, यो यहाँका सम्पूर्ण नागरिकको साझा सम्पत्ति, अधिकार र भविष्य हो।’

प्रकाशित: ३० भाद्र २०८३ २१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App