जिल्लाको तमानखोला गाउँपालिका सेवाग्राही खोज्दै सहर पस्ने तयारी थालेको छ।
गाउँ र वडा कार्यालयमा सेवाग्राहीको उपस्थिति कम भएपछि गाउँपालिकाले विभिन्न सहरमा शिविरको अयाेजना गरेर सेवा प्रदान गर्ने तयारी थालेको हो ।
गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको भाद्र मसान्त भित्र नवीकरण गर्ने व्यवस्था भए बमोजिम यस तमानखोला गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नवीकरण गर्न देशका विभिन्न सहरमा पुग्ने जानकारी गराएको छ ।
तमानखोला गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरू ठूलो संख्यामा देशका मुख्य सहरहरू काठमाडौं, पोखरा र भैरहवामा रहेको तथा वर्षायामको समयमा नवीकरणका लागि वडा कार्यालयमा उपस्थित हुन समस्या हुने भनी विभिन्न माध्यमबाट गुनासो आएकोले गाउँपालिका नै सहर पस्ने तयारीमा लागेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
‘सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरू धेरै जसो गाउँपालिका भन्दा बाहिर बसोबास गरिरहनुभएको छ,’ उनले भने,‘बर्खाको समयमा उहाँहरू वडा कार्यालयसम्म आएर कागजपत्र नवीकरण गर्न नसक्ने भन्ने गुनासोहरू आइरहेको छ । नागरिकको घरदैलोको सरकारले नागरिकलाई सहज सेवा उपलब्ध गराउनुपर्छ भनेर हामी नै उहाँहरू भएको ठाउँमा जाने तयारीमा छौँ ।’
सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राही नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै अनिवार्य उपस्थित हुनुपर्ने भएकाले ज्येष्ठ नागरिकहरूलाई समस्या परेकाले यो निर्णय लिइएको उनले बताए। ‘लाभग्राही विवरण नवीकरणका लागि सम्बन्धित व्यक्ति नै अनिवार्य हुनुपर्ने, ल्याप्चे लगाउनुपर्ने र फेस रिड गर्नुपर्ने भएका कारणले गर्दा धेरे उमेर पुगेका र विभिन्न सहरमा रहेका हाम्रा लाभग्राही ज्येष्ठ नागरिकलाई गाउँ फर्किन समस्या परेकाले हामी नै जान थालेका हौँ,’उनले भने,‘बर्खाको समय छ । ८०/९० वर्षको ज्येष्ठ नागरिकलाई यस्तो बेला गाउँमै आउनुपर्छ भन्न पनि गाह्रो देखियो ।’
यति नै लाभग्राही बाहिर छन् भन्ने निश्चित नभए पनि दुई देखि तीन सयको हाराहारीमा तमानखोलाका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरू शहरी क्षेत्रमा रहेको उनले बताए । भदौ १ गतेबाट एक हप्तासम्म गाउँपालिकाले सेवाग्राही खोज्दै सहर पस्ने भएको छ ।
भदौ २ गते पोखरा, भदौ ४ र ५ गते काठमाडौं र भदौ ७ गते भैरहवामा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको कागजपत्र नवीकरण गरिने उनले जानकारी दिए । लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न गाउँपालिकाले आवश्यक जनशक्ति र सामग्रीसहित टोली खटाउने उनले जनाए ।
प्रकाशित: ३० श्रावण २०८२ १३:३० शुक्रबार





