२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

अब पोखराका ट्याक्सी ‘मुभईन’ एप्सबाट चल्ने

तोडिएला ट्याक्सीको ‘भाडा कति’ प्रचलन ?

कुनैबेला पोखराका ट्याक्सी व्यवसायी तथा चालक राईड सेयरिङको नाम पनि सुन्न चाहँदैनथे । राईड सेयरिङ व्यवसायी विरोधी हो भन्ने उनीहरुको बुझाई थियो । त्यहि भएर गण्डकी सरकारले राईड सेयरिङलाई मान्यता दिने निर्णय गर्दा उनीहरु आन्दोलनमासमेत होमिए ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा ५ दिने हड्ताल भएपछि सरकार ब्याक भएपछि मात्रै आन्दोलन रोकिएको थियो । त्यतिबेला राईड सेयरिङका कारण आफूहरुको रोजीरोटी गुम्नसक्ने भन्दै उनीहरु आक्रोस पोख्थे । त्यहि कारण उनीहरु राईड सेयरिङको विरोधीका रुपमा चित्रित भए । त्यतिमात्र होईन सिण्डिकेटधारीदेखि लुटेर खान पल्केको, ठग भन्ने आरोपसमेत खेप्नुपर्‍यो ।

तर समय बदलियो । हिजो राईड सेयरिङको विरोध गर्ने पोखराका ट्याक्सीहरु अब एप्सबाट चल्ने तयारीमा छन् । पोखराबाट नेपाली आईटी ईञ्जिनियरले स्वदेशी लगानीमा ‘मुभईन’ एप्स निर्माण गरेर सञ्चालनमा ल्याएपछि सोहि एप्सबाट पोखराका ट्याक्सीहरु सञ्चालनमा आउन लागेका हुन् ।  

‘मुभईन’ ट्याक्सी एप्स हो । यस एप्समा मुभईन नेपाल स्वयम, प्रमेश पराजुली, पोखरेली ट्याक्सी सेवा प्रालिलगायतको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । अन्य राईड सेयरिङ ईनड्राईभ, पठाओलगायतका एप्सहरु विदेशीले सञ्चालनमा ल्याएको तर ‘मुभईन’ एप्स नेपाली आफैले विकास गरेको सञ्चालकको दाबी छ ।

यो राईड सेयरिङकै एप्सजस्तो भएपनि राईड सेयरिङ नै चाहिं होईन । यसमा सार्वजनिक सवारी साधनमात्र जोडिन पाउनेछन् । राईड सेयरिङकोजस्तो निजी कार र मोटरसाईकल भने यसमा जोडिन नपाउने ‘मुभईन’नेपालका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले बताए ।  

उनले भने,‘यो नितान्त सार्वजनिक सवारी साधन, त्यसमा पनि ट्याक्सी एप्स हो । त्यसैले यसमा ट्याक्सी मात्र जोडिएर सेवा दिन पाउँछन् ।’

‘मुभईन’ एप्सलाई पोखरेली ट्याक्सी सेवा प्रालिले अपनत्व लिएको छ । हालसम्म एक हजार भन्दा बढी ट्याक्सी ‘मुभईन’ एप्समा आबद्ध भइसकेको प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । ‘हिजो विदेशी एप्स भएकाले विरोध गरेका हौं’, उनले भने,‘आज नेपाली एप्सको विकास भयो । यसलाई हामीले अपनत्व लिएर जोडिएका हौं ।’  

उनले आफूहरुलाई प्रविधि विरोधीको रुपमा चित्रित गरिएको आपत्ति जनाए । ‘हिजो पनि हामी ‘हाउमच’को विरोधी थियौं’, उनले भने,‘तर यात्रुले नै हाउमच भनेर सोध्ने र सहमतिमा भाडा तोकेर जाने गर्थ्यौँ । आज पनि हामी हाउमच तोडिनुपर्छ भन्नेमै छौं ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सी वर्गीय संयोजक प्रकाशमणी तिवारीले हाउमच अब सँधैको लागि अन्त्य हुने उद्घोष गरे । ‘हिजो पनि हाउमच यात्रुले भनेका हुन्, हामीले भनेका होईनौं’, उनले भने, ‘सबैले कान खोलेर सुन्नुहोस्, अब एप्सबाटै सञ्चालन हुने भएपछि त्यो अन्त्य भएको छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज)ले सार्वजनिक यातायातले प्रविधिलाई स्वीकारेको प्रमाण पोखराले दिएको बताए ।

महासंघका अर्का बरिष्ठ उपाध्यक्ष ऐनकुमार साईले विदेशी राईड सेयरिङलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जबरजस्ती चलाउन खोज्दा आफूहरु आन्दोलनमा उत्रिएको तर अहिले स्वदेशी एप्स आएकाले स्वीकारेर अगाडि बढेको बताए । ‘मुख्यमन्त्रीले पनि कसैलाई वचन दिएकाले होला जबरजस्ती लाद्न खोज्नुभयो’, उनले भने, ‘तर विदेशी भएकाले त्यसबेला हामीले स्वीकारेनौं, आज स्वदेशी एप्स आएकाले हाँसीखुसी स्वीकारेका छौं । हामी अब एप्सबाटै सञ्चालन हुन्छौं ।’

महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले विदेशी एप्सले ब्रह्मलुट मच्चाईरहँदा गण्डकी सरकार मुकदर्शक बनेको आरोप लगाए । ‘हिजो पनि हामीले नेपाली एप्स चाहियो भनेका थियौं’, उनले भने, ‘हिजो थिएन र मानेनौं, आज नेपाली एप्स आएकाले यसलाई प्रयोग गरेर जान्छौं ।’

एवन ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले आफूहरु प्रविधिमैत्री सेवाकै पक्षमा रहेको बताए । तर लगानी सुरक्षा पहिलो शर्त भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

प्रकाशित: ६ आश्विन २०८२ १९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App