२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

अब मैवाखोलाको अर्ग्यानिक कृषिउपज काठमाडौंमै

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा उत्पादन भएका रैथाने तथा अर्ग्यानिक कृषि उपज अब सङ्घीय राजधानी काठमाडौंमै उपलब्ध हुने भएको छ ।  

डिग फर नेपालसंगको सहकार्यमा मैवाखोला गाउँपालिकाले पालिकामा उत्पादन भएका रैथाने कृषि उपजका उत्पादन बानेश्वरस्थित मौलिक भान्छाघरको प्राङ्गणमा स्टल राखी बिक्रीमा लैजाने भएको हो ।  

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार प्रत्येक शनिबार बिहान ७ बजे देखि १२ बजेसम्म सञ्चालन हुने गरी मौलिक भान्छाघरको प्राङ्गणमा मैवाखोलामा उत्पादन भएका कृषि उपजको स्टल राखी बिक्री सुरु गरिएको छ ।  

पालिकाले रैथाने र अर्ग्यानिक उत्पादन गरी बजारमा सहकार्य गर्न पालिकावासीलाई आह्वान समेत गरेको छ । पालिका अध्यक्ष वनेमले मैवाखोलामा उत्पादन भएका कृषि उपज रैथाने बालीलाई बिक्री स्थलसम्म पुर्या‍उने कार्यमा पालिकाले सहजीकरण गर्ने बताए । पालिकाले रासायनिक विषादी विस्थापन गरी जैविक मल उत्पादन गर्न गाउँमै उद्योग स्थापनाको कार्य समेत सुरु गरेको छ ।  

अर्ग्यानिक उत्पादनलाई ध्यान दिन पालिकाले गाउँमै जैविक(प्राङ्गारिक)मल उत्पादन उद्योग स्थापनाका लागि ठेक्का लगाई प्रक्रिया सुरु गरेको छ । रैथाने कृषि उत्पादनलाई प्राथमिकता दिन तथा उत्पादन भएका चिज बस्तुको सहज बजारीकरणका लागि सङ्घीय राजधानी सहितका स्थानमा बिक्री स्टल राख्ने कार्यमा पालिका अग्रसर भएको छ ।  

किसान, बजार, प्रविधि र उपभोक्तालाई एकै ठाउँमा जोड्न पालिका अग्रसर रहेको अध्यक्ष वनेमले बताए ।  

मैवाखोला घर भई पेसा व्यवसायको सिलसिलामा काठमाडौं बस्दै आएका ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङ आफ्नो पालिकाको कृषि उपज उत्पादन राजधानीमै पाइन थालेकोप्रति खुसी व्यक्त गरेका छन्। रैथाने र अर्ग्यानिक बालीको उपभोगले स्वास्थ्य जीवनका लागि समेत योगदान दिने भएकोले स्टलबाट उपभोक्ताले लाभ लिन सक्नुपर्ने तामाङले बताए ।  

स्टलमा मैवाखोलामा उत्पादन भएका मकै, भटमास, कोदो, कोदोको पिठो, बेलकुटी चामल, चौँरीको घिउ, छुर्पी, याकको सुकुटी, अकबरे खुर्सानी, गुन्द्रुक, सिन्की, बेसार, अदुवाका परिकार सहितका कृषि उपज उपलब्ध हुने छ । 

प्रकाशित: ७ वैशाख २०८३ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App