१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

अब क्यालेण्डर बनाएर रासायनिक मल वितरण गरिने : मन्त्री चौधरी

कृषि तथा पशुपन्छी तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले आगामी वर्षदेखि पूर्वनिर्धारित क्यालेण्डरका आधारमा देशभर रासायनिक मल वितरण गरिने बताएकी छन्।

चितवनको कुमरोजमा शनिबार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आयोजित किसानसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस वर्ष समयमा मल उपलब्ध गराउन नसकेको स्वीकार गर्दै आगामी दिनमा यस्तो समस्या दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरिन्।

‘यसपटक समयमा मल पुर्‍याउन सकेनौँ,’ उनले भनिन्, ‘अब देशभर क्यालेण्डर बनाएर समयमै मल वितरण गर्ने व्यवस्था मिलाउँछौँ।’

उनले अमेरिका–इरान द्वन्द्वका कारण रोकिएको रासायनिक मल अहिले बन्दरगाहामा आइपुगेको जानकारी दिँदै साउन १ गतेदेखि आयात प्रक्रिया सुरु हुने बताइन्।

मन्त्री चौधरीका अनुसार सरकारले रासायनिक मलमा ९० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ। मलको दीर्घकालीन समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले जोड दिइन्।

‘कृषि क्षेत्रको समस्या एउटा तहले मात्रै समाधान गर्न सक्दैन। तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ। एकअर्कालाई दोषारोपण गरेर समस्या समाधान हुँदैन,’ उनले भनिन्।

कृषिको व्यवसायीकरण विस्तारसँगै रासायनिक मलको माग प्रत्येक वर्ष बढ्दै गएको उनको भनाइ छ। खेती प्रणालीमा आएको परिवर्तन र माटोको उर्वराशक्ति घट्दै जाँदा मलको आवश्यकता बढेको भन्दै सरकारले त्यसअनुसार आयातसमेत बढाएको उनले बताइन्।

उनका अनुसार चालु आर्थिक वर्षमा सरकारले करिब ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गरेको छ। अघिल्लो आर्थिक वर्षमा ४ लाख ३६ हजार मेट्रिक टन मल आयात गरिएको थियो।

कार्यक्रममा सहभागी चितवनका किसानहरूले धान रोपाइँ सकिएपछि मात्र मल उपलब्ध गराइएको भन्दै असन्तुष्टि जनाएका थिए। जिल्लामा असार १७ गतेपछि मात्रै मल वितरण सुरु भएको थियो।

कृषि सामग्री कम्पनी लिमिटेड, चितवनका प्रमुख राजन बगालेका अनुसार जिल्लामा २१ हजार मेट्रिक टन युरिया, १३ हजार मेट्रिक टन डीएपी र ६ हजार मेट्रिक टन पोटास आवश्यक भए पनि हालसम्म करिब ४ हजार ५ सय मेट्रिक टन मात्रै मल वितरण गरिएको छ।

प्रकाशित: २७ असार २०८३ २०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App