खोटाङ सदरमुकाम दिक्तेल बजारमै उपभोक्ता अखाद्य बस्तु खान बाध्य भएको पाइएको छ।
जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रममा मुख्य व्यापारिक केन्द्र र सदरमुकामजस्तो संवेदनशील बजारकै पसलहरूमा छ्यापछ्याप्ती अखाद्य बस्तु फेला परेको हो।
बजार अनुगमनको क्रममा दिक्तेल बजारकै पसलहरूमा म्याद नाघेका अखाद्य बस्तुहरू फेला परेको हो।
मुख्य बजारका पसलहरूमा अनुगमन गर्दा विभिन्न प्रकारका दर्जनौँ खाद्यवस्तु म्याद नाघेको अवस्थामा भेटिएको अनुगमन समितिले जनाएको छ।
त्यसरी फेला परेर बरामद गरिएको अखाद्य बस्तु २५ हजारभन्दा बढी मूल्यको रहेको समितिले जनाएको छ। समितिले दिक्तेलस्थित किरात चोकदेखि मानवअधिकार चोकसम्मका २४ वटा होलसेल तथा थोक किराना पसलमा अनुगमन गरेको थियो।
२४ वटा पसलमै २५ हजार ९ सय ८३ रुपैयाँ बराबरको म्याद नाघेका थोक बस्तु बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शमशेर राईले बताए।
जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ उद्योग वाणिज्य संघ र पत्रकार महासंघ समेतको संयुक्त टोलीले अनुगमन गर्दा भेटेर बरामद गरिएको म्याद नाघेका अखाद्य बस्तु बुधबार साँझ नष्ट गरिएको छ।
प्रशासकीय अधिकृत राईका अनुसार अनुगमनको क्रममा तयारी पेय पदार्थ मिक्स जुस, स्लाईस, डिउ, सानो डिउ, करेन्ट खुर्सानी पाउडर, हाजमोला, चकलेट, बिस्कुट, बिरे नुन, बेसार धुलो, पोटेटो चिप्स म्याद नाघेको अवस्थामा भेटिएको छ।
त्यस्तै चिजबल, पानी पुरी, चाइनिज रोल, थुक्पा, मिक्स चकलेट, पापड, आटा, टमाटर सस, मेङ्गो जुसलगायत सामग्री म्याद नाघेको अवस्थामा भेटिएको राईले बताए।
दिक्तेलमा रहेको होलसेल तथा खुद्रा पसलमा वर्षौँदेखि म्याद नाघेका तथा गुणस्तरहीन उपभोग्य बस्तु बिक्री वितरण भइरहेको जनगुनासोपछि प्रशासनले अनुगमन गरेको हो।
उपभोक्ताले म्याद नाघेका तथा गुणस्तरहीन थोक वस्तु खुलेआम बिक्री वितरण भइरहे पनि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो गर्दै आएका छन्।
यसरी म्याद नाघेका तथा गुणस्तरहीन अखाद्य बस्तु भेटिएपछि बरामद गर्दै आगामी दिनमा यस्तो नगर्न व्यापारीहरूलाई चेतावनी दिइएको छ।
अर्को पटकको अनुगमनमा पनि यस्तो कमजोरी पाइए कानुन बमोजिम कारबाही गर्ने गरी एक पटकलाई माफ दिइएको घरेलु कार्यालय प्रमुख भेषराज खत्रीले बताए।
उपभोक्ताले त्यस्ता अखाद्य बस्तु बेचेर जनस्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरूमाथि निर्मम भएर कारबाही गर्नुपर्ने माग पनि राखेका छन्।
बजारवासीले अनुगमन गरेजस्तो र अखाद्य बस्तु नियन्त्रण गरेर नष्ट गरेजस्तो मात्र नगरी कारबाही नै गर्नुपर्ने माग गरेका छन्।
अखाद्य बस्तु बिक्री वितरण, कालोबजारी, कृत्रिम अभावजस्ता उपभोक्ता विरोधी गतिविधि गर्नेलाई उपभोक्ता ऐन अनुसार हदैसम्मको कारबाही गर्नुपर्ने विषयमा प्रशासन, प्रहरी, घरेलु र वाणिज्य संघको ध्यानाकर्षण गराइएको स्थानीय नवीन राईले बताए।
बजार अनुगमनलाई तीव्रता दिन तथा सदरमुकामबाहेकका बजार पसलहरूमा पनि नियमित अनुगमन गर्न पनि उपभोक्ताले ध्यानाकर्षण गराएका छन्।
प्रकाशित: १ आश्विन २०८३ १७:०९ बिहीबार





