गएको भदौ २३ र २४ गते ‘जेन–जी’ युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका गाडीका कागजात पुनः प्राप्तिका लागि सेवाग्राहीले अब कार्यालय धाउनुपर्ने छैन । ट्राफिक प्रहरी महाशाखाले अनलाइन प्रणालीमार्फत सो सेवा सुरु गरेको छ ।
आन्दोलनका क्रममा आगजनी हुँदा ट्राफिक कार्यालयमा रहेका सवारी चालक अनुमतिपत्र, गाडी दर्ता किताब, जरिवाना विवरण लगायतका महत्वपूर्ण सरकारी कागजातहरू जलेर नष्ट भएका थिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, अब सेवाग्राहीले उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’ भन्ने विकल्पमा क्लिक गरी फारम भरेपछि अनलाइनमै आवेदन दिन सक्नेछन् ।
निवेदन पठाएपछि सेवाग्राहीलाई एप्लिकेशन नम्बर प्राप्त हुन्छ । त्यस नम्बरलाई ‘चेक एप्लिकेशन’ भन्ने विकल्पमा राख्दा क्यूआर कोडसहितको सिफारिस पत्र डाउनलोड गर्न सकिने सुवेदीले जानकारी दिए ।
उनका अनुसार, कुनै व्यक्तिको कागजात जलेको र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्र उपलब्ध भएमा, सो आधारमा हाललाई गाडी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित: २७ आश्विन २०८२ १६:०५ सोमबार


-600x400.jpg)


