खोटाङको साकेलागाउँपालिकाले श्रमदानबाटै स्थानीय तावा खोलामा ग्यावियन जाली लगाएर सडक सुचारु गरेको छ। गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको ‘साकेला श्रमदान अभियान’ अन्तर्गत वडा नम्बर ३ खिदिमाको अगुवाईमा तावाखोलामा वृहत जनश्रमदानमार्फत खोलामा ग्यावियन वाल निर्माण गरिएको हो।
स्थानीयबासीको सक्रिय सहभागितामा खोलामा ग्यावियन जाली लगाएर सडक आउजाउ गर्न सहज बनाइएको हो। वर्षायाममा बाढीका कारण खोलाले बाटो छेक्ने समस्या अन्त्य गर्न श्रमदानबाटै ग्यावियन जाली लगाइएको गाउँपालिकाले जनाएको छ। स्थानीयबासीको समस्यालाई मध्येनजर गर्दै ३ नं. वडा कार्यालयले सामूहिक श्रमदान कार्यक्रममार्फत जाली लगाइएको वडाध्यक्ष गोविन्द तामाङले बताए।
सोमबारको जनश्रमदान अभियानमा गाउँपालिका अध्यक्ष रविप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष तामाङ, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुका साथै विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, कर्मचारी, प्रहरी र स्थानीय श्रमजीवि नागरिकको सहभागिता थियो। श्रमदान अभियानमा झण्डै डेढ सय स्थानीयको सहभागिता रहेको वडाध्यक्ष तामाङले जानकारी दिए।
सामूहिक श्रम सहकार्यबाटै खोलाको जोखिमपूर्ण भागमा तारजाली लगाएर निर्माण गरिएको ग्यावियन वालले सडकमा आउजाउ गर्न सहज बनाएको तामाङले बताए। पर्याप्त बजेट अभावका कारण गाउँ टोललाई राम्रो तथा बाटोघाटो सहज बनाउन श्रमदान अभियान आवश्यक परेको र त्यस्ता काममा गाउँलेहरु एक भएर लाग्दै आएको उनको भनाइ छ।
गाउँपालिकाका पूर्ण सरसफाई कार्यक्रम उत्प्रेरक नविन श्रेष्ठले सो ठाउँमा खोलाको कटानले हिँडडुल गर्न र सवारी चलाउन समस्या हुँदै आएकोमा श्रमदानबाटै संरचना निर्माणपछि आउजाउ गर्न सहज भएको छ। ग्यावियन वाल निर्माणले सम्भावित क्षतिलाई समेत नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले विगत ३ वर्षयता विकासको अवधारणालाई श्रमदानसँग जोडेर विभिन्न कामहरु गर्दै आएको छ। जस अनुसार आवधिक योजना तथा हरेक वर्षको नीति कार्यक्रमबाटै जनश्रमदानलाई प्रमुख आधार मानेर अभियान चलाउँदै आएको छ। स्थानीय नागरिकको सामूहिक पहल र सहभागिताबाट मात्र विकास सम्भव हुने र समृद्ध साकेला निर्माण गर्न टेवा पुग्ने उद्देश्यले गाउँपालिकाले श्रम साकेला अभियान निरन्तर सञ्चालन गर्दै आएको छ।
श्रमदान अभियानमा सक्रियताका साथ सहभागी हुँदै आएका गाउँपालिका अध्यक्ष रविप्रकाश राईले साकेला श्रम अभियानले स्थानीय विकासमा नयाँ ऊर्जा थपेको बताए। जनताको श्रम र एकताले असम्भव जस्तो देखिने धेरै विकास निर्माणका कामलाई पनि सम्भव बनाउने उनको बुझाइ छ। साकेला श्रम अभियान अन्तर्गत सामूहिक प्रयासबाट यहाँको धेरै विकास निर्माणका कामलाई सम्भव बनाउने अध्यक्ष राई बताउँछन्।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले श्रमदानमा सक्रिय सहभागी हुने यस प्रकारको अभियानले गाउँमा अपनत्व, सहकार्य र दिगो विकासको भावना बढाउने बताइन्। स्थानीयबासी, जनप्रतिनिधि तथा राजनीतिक दलका कार्यकर्ता एकै ठाउँ उभिएर गर्ने श्रमदानले सामूहिक जिम्मेवारी र विकासप्रति साझा प्रतिबद्धताको सन्देश दिने उनले बताइन्।
सीमित स्रोतसाधनका बीच सामूहिक श्रमबाट गरिएका यस्ता कार्यले गाउँपालिकामा दिगो र प्रभावकारी विकासको आधार तयार हुँदै गएको उनको बुझाइ छ। श्रमदानबाट धेरै कुराहरु सानो बजेट र सामूहिक प्रयासबाट सम्भव हुने अनुभव बटुलिसकेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने उपाध्यक्ष राईको भनाइ छ।
साकेलाले आगामी दिनमा पनि सडक, पुल, खानेपानी, संरक्षित संरचना जस्ता भौतिक संरचना निर्माण लगायत अन्य सार्वजनिक पूर्वाधारका कार्य गर्न श्रमदान अभियानलाई निरन्तरता दिँदै लाने गाउँपालिकाको योजना छ।
प्रकाशित: २७ माघ २०८२ ०८:३० मंगलबार





