४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

सापलामा छैन बिजुली : वर्षौदेखि अँध्यारो गाउँ, गाडेका पोल पनि बांगिए

बांगिएको पोल र लत्रिएको तार रुखमा बाँधेको अवस्थामा।

लिमचुङबुङ गाउँपालिका ५ जाँते खोस्टुङका टेकबहादुर कार्कीले निकै पहिला कुलमान घिसिङले १८ घण्टा लामो लोडसेडिङ हटाएको सुनेका थिए। त्यसैगरी गाउँमा बिजुली बत्ती आउँदैछ भन्ने गाँईगुँई पनि सुनेकै थिए।  

गाउँपालिकाले खोटाङको हलेसीबाट बिजुली ल्याउँदैछ भन्ने सुनेका उनले एकदिन आफ्नो गाउँमा पनि पक्कै बिजुली आउला भन्ने अपेक्षा गर्नु अन्यथा थिएन। उनले सोचेको जस्तो गाउँपालिका केन्द्र बाराहामा ०७७/७८ मा बिजुली बल्यो। वडा नं. ३ मा बाराहाका बिजुली आएपछि वडागत रूपमा बिजुली विस्तार गर्ने क्रम सुरु हुँदै ५ नं. वडा कार्यालय टोड्केसम्म बत्ती बल्यो।  

वडा कार्यालय हुँदै बिजुलीकरण कार्य भइरहेकै थियो। डाँडैडाँडा भएर गाउँगाउँ बिजुलीका पोल गाड्ने क्रम चल्यो, लाइन विस्तार पनि भयो। बत्ती बलेको फोटो खिचेर गाउँ जनप्रतिनिधिले लिमचुङबुङ झिलिमिली भएको पोष्ट गर्न थाले तर, कार्कीको गाउँजस्ता गहिरा, खोँच र छेउलोका धेरै बस्ती अन्धकारमै थिए।  

नेपाल बिजुली प्राधिकरणका तत्कालिन कार्यकारी अध्यक्ष घिसिङले ०७९/०८० लाई ‘पूर्ण बिजुलीकरण’ गर्ने अर्थात् सबैलाई बिजुलीको पहुँचमा पुर्‍याउने योजना अघि सारे। पूर्ण बिजुलीकरण कार्यक्रमअन्तर्गत बिजुली पुग्न बाँकी रहेका सबै गाउँ, टोल र बस्तीमा पोल गाड्ने, लाइन विस्तार गर्ने र बत्ती बाल्ने तयारी सुरु भयो।  

०८१/८२ भित्र देशलाई पूर्ण बिजुलीकरण गरिसक्ने योजना चलिरहेकै बेला सरकारले कार्यकारी अध्यक्षबाट घिसिङलाई हटायो।  

साबिक जाँते गाउँ विकास समिति २ मा पर्ने कार्कीको घर खोस्टुङको पुछारमा पर्छ। खोस्टुङसम्म गतवर्षदेखि बिजुली बलिसकेको भए पनि त्यहाँदेखि ३ सय मिटर तल पर्ने उनको घरसम्म बिजुली पुर्‍याउन कम्तीमा ६ वटा पोल गाड्नुपर्छ। त्यही पोलको अभावमा कार्की परिवार अँध्यारोमा बस्न बाध्य भएको हो।  

सरकारले आफूलाई जनता नै नठानेकाले बिजुली बाल्न नपाएको होला भन्छन् कार्की। ‘हामीलाई जनता नै होइन भन्ने ठानेको होला,’ उनको गुनासो मिश्रित प्रश्न छ, ‘नत्र वरिपरि गाउँका सबैले बत्ती पहिल्यै बालिसके, मेरो घरसम्म अझै पोल नै गाडिएको छैन किन?’  

उसो त खोस्टुङदेखि झण्डै १ किलोमिटर पश्चिम सापला गाउँ पनि बिजुलीको तिर्खाले छटपटाइरहेको छ। गतवर्ष नै खोस्टुङदेखि लाइन विस्तार गर्ने गरी १३ वटा पोल सापलासम्म गाडिसकिएको छ। तर, अहिलेसम्म अनेक कारण देखाउँदै प्राधिकरणले लाइन विस्तार नगर्दा सापलाका ७ घरधुरी परिवार अन्धकारमै बस्नुपरेको छ। वर्षदिनअघि गाडेको पोल हावाले हल्लाएर बांगिएका छन्। ‘प्राधिकरणले तार जोड्ने काम गरे बिजुली बाल्न पाइन्थ्यो,’ उनले भने।  

प्राधिकरण वितरण केन्द्र उदयपुरका प्रमुख माधवप्रसाद यादवले पोलको अभावमा कतिपय ठाउँमा अझै बिजुली पुग्न बाँकी रहेको स्वीकारे। पूर्ण बिजुलीकरण अभियान चलिरहेको भन्दै यादवले चालु वर्ष बाँकी सबैतिर बिजुली विस्तार गरिसक्ने योजना सुनाए। उनले भदौदेखि बाँकी ठाउँमा बिजुली विस्तार गरेर बत्ती बाल्ने कार्यक्रम रहेको बताए।  

‘भर्खर आर्थिक वर्ष सुरु भएको छ, अहिले वर्षायाम भएकाले काम गर्न गाह्रो छ,’ प्रमुख यादवले भने, ‘भदौदेखि सबैतिर काम सुरु हुन्छ। पोल नभएको ठाउँमा गाड्ने, गाडेको ठाउँमा लाइन विस्तार गर्ने, लाइन विस्तार भइसकेकोमा मिटर बक्स राखेर बत्ती बाल्ने काम हुन्छ।’ 

गाडेको वर्षदिन नपुग्दै बांगिए  पोल  
खोस्टुङकै बिजुलीका पोल भने वर्ष दिन पनि नपुग्दै बांगिए र ढल्ने अवस्थामा पुगेका छन्। वर्षदिनअघि गाडिएका पोल १ मिटर गाड्नुपर्नेमा आधा मिटर मात्र गाडिएकाले हावाले हल्लाएर ढल्ने अवस्थामा पुगेको स्थानीय बताउँछन्।

कतिपय पोल लामो दूरीमा गाडिएका कारण पनि यस्तो समस्या आएको स्थानीय नइन्द्र राईले बताए। उनको अनुसार ५० मिटरको दूरीमा गाड्नुपर्ने पोल १ सय मिटर बढी लामो दूरीमा गाड्नाले केही समयपछि नै तार लत्रिएर भुईँ छुने अवस्थामा पुगेको छ।

पोल बांगिनुका साथै तार लत्रिएर भुईँ छुन लागेपछि स्थानीयले केही ठाउँमा तार रुखमा बाँधेर राखेका छन्। यसरी बांगिएको पोल र लत्रिएको तारका कारण बिजुलीको झट्का (करेन्ट) लाग्ने उत्तिकै जोखिम रहेको स्थानीय बताउँछन्।  

‘१ मिटर गाड्नुपर्ने पोल आधा मिटर मात्र गाड्छन्, त्यसैले हावाले बङ्ग्याएर ढल्ने अवस्थामा पुगेका छन्,’ अर्का स्थानीय निरबहादुर राईले भने, ‘त्यसैगरी धेरै लामो दूरीमा गाडिएका कारण तार लत्रिएर भुईँ छुने अवस्थामा पुगेपछि हामीले रुखमा बाँधेर राखेका छौँ। बांगिएको पोल र लत्रिएको तारले कुन बेला करेन्ट लाग्ने हो थाहा छैन।’ 

प्रकाशित: १६ श्रावण २०८२ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App