पाथीभरा क्षेत्रमा केबलकार पक्षधर र ‘नो केबलकार पक्षधर’ बिचको कार्यक्रमले यति बेला ताप्लेजुङमा फेरि केबलकारको विषय उत्कर्षमा ल्याएको छ।
शनिबार केबलकार बनाएर विकास र समृद्धिको अध्याय सुरु गर्नुपर्ने माग अघि सार्ने पक्षले केबलकार आर्थिक समृद्धिको सूचक भएको भन्दै निर्माणाधीन उक्त आयोजना तत्काल सम्पन्न गरी निजी लगानीको सुरक्षणका लागि सरकारको ध्यानाकर्षण गरेका छन्।
यसअघि ‘नो केबलकार पक्षधर’ले विरोध प्रदर्शनसम्मका कार्यक्रम घोषणा गरेका थिए। ‘नो केबलकार पक्षधर’घटक संस्थाहरूले वैशाख ३० गते सचेतनामूलक अभियान देखि विरोध प्रदर्शनसम्मका कार्यक्रम घोषणा गरेका हुन्।
शनिबार फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको ६० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै यो कार्यलाई सहज रूपमा सम्पन्न गर्ने वातावरण बनाइदिन सरकारको ध्यानाकर्षण गरेका छन्। ‘म यही पत्रकार सम्मेलनमार्फत सम्माननीय प्रधानमन्त्री ज्यू, माननीय मन्त्री ज्यूहरू र राजनीतिक दललाई आग्रह गर्दछु, केबलकार निर्माण र सञ्चालनले मुलुकको कुल गृहस्थ उत्पादन समेतलाई सहयोग पुर्याउने भएकोले त्यसलाई चाँडो सम्पन्न हुने वातावरण नेपाल सरकारले बनाउनुपर्छ,’ नगरप्रमुख मादेनले भने।
उनले जिल्लाका स्थानीय तहका प्रमुखहरू, वडाध्यक्ष सहितका जनप्रतिनिधि, राजनीतिक दल,युवा र ज्येष्ठ नागरिक केबलकारको पक्षमा रहेको दाबी गरे। ताप्लेजुङका एकाध बाहेक इलाम, पाँचथर, धनकुटा, धरान, झापा र काठमाडौंबाट यहाँ आएर केबलकार निर्माण गर्न नहुने भन्दै नारा जुलुसमा उत्रने गरेको भन्दै नगरप्रमुख मादेनले ताप्लेजुङका आम नागरिक केबलकारको पक्षमा रहेको बताए।
नगरप्रमुख मादेनले केबलकार निर्माणका क्रममा पवित्र भूमि पाथीभरा डाँडा नामेट नहुने दाबी गर्दै मन्दिर क्षेत्र नै भत्किन्छ जस्ता भाष्य बनाएर केही पक्षले केबलकार निर्माणको विरोध गरिरहेको बताए।
निजी लगानीको सुरक्षा राज्यको दायित्व भएको र स्थानीयवासीको आग्रह र अनुरोधमा नेपाल सरकार आफैँले केबलकार निर्माणको अनुमति प्रदान गरेको सुनाउँदै नगरप्रमुख मादेनले पाथीभरा क्षेत्रमा भक्तजनको आकर्षण बढाएर आर्थिक समृद्धिलाई थप बलियो बनाउन तथा स्थानीयलाई रोजगारी दिलाउन केबलकारको निर्माण कार्य चाँडो पूरा हुनुपर्ने बताए।
‘केबलकारमा स्थानीयको स्वामित्व कस्तो हुने, कसरी प्रकृति र संस्कृतिको संरक्षण गर्ने, धार्मिक तथा सांस्कृतिक प्रवर्द्धनलाई आयोजनामार्फत कसरी अघि बढाउने, रोजगारीमा स्थानीयको उपस्थिति कस्तो हुने भन्ने विषयमा छलफल गरी समस्या समाधान गरौँ’, नगरप्रमुख मादेनले ‘नो केबलकार’पक्षलाई आग्रह गर्दै भने, ‘तर केबलकार बनाउनै हुँदैन भन्ने अड्डी कस्नु विकास र समृद्धि माथिको धोका हुने छ’।
केबलकार निर्माण युवा सहजीकरण समितिका संयोजक पदमचेञ्जी मावोले गत आन्दोलन जस्तै बाहिरबाट मान्छे भेला गरी ताप्लेजुङका जनतालाई त्रास र आतङ्क फैलाउने गरी अराजक काम भए त्यसका विरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिए।
ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले निजी लगानीलाई निरुत्साहित गरे मुलुक नबन्ने विषय नेपाल सरकार स्वयंलाई अवगत भएको स्मरण गर्दै केबलकार सहित विकास निर्माणका कार्यमा अशान्त अवस्था सृजना नहुने गरी सरकारले वातावरण तयार गरिदिनुपर्ने बताए।
उनले केबलकार कम प्राकृतिक क्षतिमा निर्माण हुने आधुनिक युगको सुहाउँदिलो साधन भएकोमा दुई मत नरहेको बताए। होटेल व्यवसायी सुरेश लिम्बूले केबलकार पर्यटक वृद्धि गरी आर्थिक अवस्था चलायमान बनाउने उत्तम साधन रहेको भन्दै केबलकारका नाममा लिम्बू समुदायबिच विभाजन ल्याउने खतराको आशङ्का गरे।
विकास निर्माणका सन्दर्भमा ताप्लेजुङका स्थानीयवासीको तर्फबाट भनेर आयोजना गरिएको पत्रकार सम्मेलनमा जेन जी ताप्लेजुङका सहसंयोजक विकास लिम्बूले ताप्लेजुङको विकासको गति अहिले भन्दा माथि पुर्याउन केबलकार बन्नुपर्ने धारणा राखे।
उता, ‘नो केबलकार पक्षधर’घटक संस्था मुक्कुमलुङ केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूका अनुसार जेठ ५ मा राजनीतिक दलसँग अन्तरक्रिया,७ गते सरकारलाई ज्ञापन पत्र बुझाउने, ९ गते संघसंस्थासंग अन्तरक्रिया गर्ने,११ गते कालो झण्डासहित कोणसभा गर्ने,१६ गते फुङलिङमा जनप्रदर्शनसहित खबरदारी गर्ने र १७ गते मुक्कुमलुङ.पाथीभरा क्षेत्रमा वृक्षारोपण गर्ने सहितका कार्यक्रम घोषणा भएका छन्।
थप आन्दोलनका कार्यक्रम चरणबद्ध रूपमा घोषणा गर्ने ‘नो केबलकार पक्षधर’घटक संस्थाहरूको तयारी रहेको छ।
प्रकाशित: २ जेष्ठ २०८३ १३:४३ शनिबार





