२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्

निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन्। फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरे पनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा छन्। नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म विद्युतको सुविधा पुग्न नसकेको हो।

अधिकांश स्थानीय निसी गाउँबाट गएर यहाँ बसोबास गर्ने गरेका छन्। पहिले बर्खाको समयमा मात्र निसेलढोर पुग्ने निसीवासी अहिले स्थायी रूपमै यहाँ बस्न थालेका हुन्। निसेलढोरमा बस्ती विस्तार भए पनि अहिलेसम्म विद्युतको पहुँच नपुग्दा सयौँ स्थानीय समस्यामा पर्ने गरेका छन्। जेठदेखि असोजसम्म अधिकांश निसीका स्थानीय निसेलढोरमा बस्ने गर्छन्। उनीहरू अहिलेसम्म अन्धकारमै रात बिताउँदै आएका छन्।

एक दशक अगाडिसम्म घुम्ती बसाइँ हुने गर्दा विद्युत् विस्तारका लागि राज्यले चासो दिएको थिएन। अहिले बाह्रै महिना सयौँ स्थानीय निसेलढोरमा बसोबास गर्दा पनि विद्युतको सुविधा पाउन नसकेको स्थानीय चन्द्रबहादुर घर्तीमगरले बताए। पछिल्लो पाँच वर्षयता निसेलढोरमा स्थायी रूपमा बस्ने स्थानीयको सङ्ख्या बढेको उनको भनाइ छ। हुनेखानेहरूले विभिन्न विद्युतीय उपकरण लिएर रातिमा उज्यालो सामान्य परिवारले टुकीकै भरमा रात कटाउनुपर्ने घर्तीमगर बताउँछन्।

'अहिलेको जमानामा पनि हामीहरू विद्युत सेवा उपयोग गर्न पाएका  छैनौँ, सरकारले यति ठूलो बस्तीमा विद्युत् ल्याउनका लागि इच्छा देखाएन, पहिले बजारबाट मट्टितेल लिएर टुकी बाल्ने गर्थ्यौँ, अहिले सबै ठाउँमा बिजुली पुगेर होला बजारमा मट्टितेल पनि पाउन गाह्रो छ,' उनले भने, 'विद्युतको माग गर्न धेरै ठाउँमा पुग्यौँ, तर अहिलेसम्म कतैबाट पनि माग पूरा गर्न प्रयास भएको छैन।'

गाउँमा विद्युत् नहुँदा अन्धकारमै रात बिताउनुका साथै रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न पनि निकै समस्या भएको स्थानीय पानकुमारी विकले बताइन्। दुई वर्ष अगाडि नेपाल टेलिकमले टावर राखेर फोन गर्न सुविधा दिए पनि विद्युत् नहुँदा चार्ज गर्न नपाइने उनको भनाइ छ। अहिले दुई घण्टा हिँडेर मोबाइल चार्ज गर्न ढोरपाटन नगरपालिका–९ स्थित भुजी आउनुपर्ने बाध्यता रहेको विकले सुनाइन्।

विकले भनिन‍्, 'आफन्तलाई फोन गर्न पहिला निकै समस्या थियो, दुईतीन घण्टाको उकालो चढेर अग्लो पहाडमा पुगी फोन गर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको छ, तर बिजुली नहुँदा चार्ज गर्न टाढा जानुपर्छ, गाउँमा बिजुली हुन्थ्यो भने धेरै सजिलो हुने थियो, ब्याट्रीबाट रेडियो सुन्छौँ, टेलिभिजन हर्न पाएका छैनौँ।'

निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले निसेलढोरमा विद्युत् पुर्याउन केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरिरहेको जानकारी दिए। स्थानीय जलविद्युत् आयोजनाबाट तार तानेर विद्युत् लैजाने भनिए पनि काम नभएको उनको भनाइ छ। आगामी वर्षसम्म निसीखोलामा विद्युत् बालेर छाड्ने उपाध्यक्ष घर्तीमगर बताउँछन्।

प्रकाशित: ३ भाद्र २०८२ ०८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App