२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

निर्मला प्रकरण सुरुदेखि नै गिजोलियो, तर दोषी उम्किँदैनन्: आईजीपी थापा

‘अनुसन्धान निरन्तर छ, निकट भविष्यमै टुङ्गोमा पुग्छ’

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान सुरुदेखि नै ‘गिजोलिएको’ स्वीकार गरेका छन्। यद्यपि, उनले अनुसन्धान निरन्तर जारी रहेको र निकट भविष्यमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै उनले भने, ‘निर्मलाको हत्याकाण्डमा, त्यो रेप-मर्डर जुन छ, त्यो अलि सुरुदेखि नै गिजोलिएको विषय हो।’ 

महानिरीक्षक थापाले आफू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख हुँदा गठन गरेको अनुसन्धान टोलीले अझै पनि निरन्तर काम गरिरहेको जानकारी दिए।

‘त्यसमा कन्टिन्युअस लागेको अवस्था पनि हो,’ उनले भने, ‘हाम्रा अनुभवी अनुसन्धान अधिकृतहरू, पूर्वप्रहरीहरू जो यो केसमा संलग्न हुनुहुन्थ्यो, उहाँहरू अहिले पनि हाम्रो सम्पर्कमा रहेर सूचनाहरू दिएर त्यसलाई अगाडि बढाइरहेका छौं।’

नेपाल प्रहरीले ९७.५ प्रतिशत अपराधका घटनामा सफलता हासिल गरेको तथ्यांक प्रस्तुत गर्दै उनले निर्मला प्रकरण जस्ता केही केसहरू सुल्झाउन बाँकी रहेको स्वीकार गरे।

‘हामीले अहिलेसम्म जति पनि अपराध कर्महरू भए, कसुरहरू भए, त्यसमा नेपाल प्रहरी सक्षम छ र देश-विदेश जहाँसुकैबाट भएपनि हामीले ल्याएका छौं र ९७.५ प्रतिशत कानुनी दायरामा ल्याएका छौं,’ उनले भने, ‘अब त्यो २.५ प्रतिशतभित्र निर्मलाको पनि पर्छ।’

अनुसन्धानको प्रक्रिया जटिल हुने भएकाले सबै कुरा सार्वजनिक गर्न नमिल्ने बताउँदै उनले ठोस प्रमाण फेला परेपछि मात्रै बाहिर ल्याइने बताए।

आफ्नो कार्यकालमा यो मुद्दा सुल्झाउन नसकेकोमा केही खल्लो लागेको संकेत गर्दै उनले भने, ‘मलाई चाहिँ त्यो अलि चाँडै गर्न पाए हुन्थ्यो भन्ने थियो। तर यो कन्टिन्युअस छ। मलाई लाग्छ, यो पनि निकट भविष्यमा सल्टेला।’ 

प्रकाशित: ४ भाद्र २०८२ १९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App