पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को शव फेला परेको जनाएको छ।
एसीपीले निम्स दाइको शव ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा फेला परेको जनाएको हो।
हिमपहिरोमा परेर उनीसहितको आरोहण टोली तीन दिनअघि बेपत्ता भएका थिए। एसीपीले आइतबार जारी गरेको विज्ञप्तिमा उद्धार टोली घटनास्थलमा पुगेको र पुर्जाको शवसँगै अन्य तीन शव पनि देखिएको उल्लेख गरेको छ।
ती शवहरूको पहिचान भने अझै पुष्टि हुन बाँकी रहेको जनाइएको छ। उद्धार टोलीले सबै शवलाई जापानी क्याम्पतर्फ ल्याउने तयारी गरिरहेको एसीपीले जनाएको छ।
यसअघि शनिबार पुर्जाको अभियान व्यवस्थापन कम्पनी एलिट एक्सपेडले पुर्जासहित सम्पूर्ण आरोहण टोलीका सदस्यको ब्रड पिकको हिमपहिरोमा परी मृत्यु भएको पुष्टि गरेको थियो।
शनिबार नै उद्धार टोलीले ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, नेपालका पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव बरामद गरेको थियो। साथै, अमेरिकी पर्वतारोही सारा म्यालोरी गेसको अवशेष पनि फेला परेको थियो।
एसीपीका महासचिव अयाज शिग्रीले डनलाई ब्रड पिकको कठिन भू–भाग, निरन्तर हिमपहिरोको जोखिम र प्रतिकूल मौसमका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको बताएका छन्।
मौसम प्रतिकूल भएकाले हेलिकप्टर परिचालन गर्न नसकिएको र पाकिस्तान तथा नेपालका पर्वतारोही सम्मिलित आठ सदस्यीय स्थलगत उद्धार टोलीले अभियान अघि बढाइरहेको उनले बताए।
निर्मल पुर्जाको आरोहण टोलीमा उनीसहित १० जना सदस्य थिए। टोलीमा ६ नेपालीसहित पाकिस्तान, ओमान, अमेरिका र चीनका एक–एक जना पर्वतारोही सहभागी थिए।
एसीपीले हालसम्म प्राप्त विवरण प्रारम्भिक प्रतिवेदनमा आधारित रहेको उल्लेख गर्दै आधिकारिक पुष्टि नआउँदासम्म अप्रमाणित सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ।
प्रकाशित: १७ श्रावण २०८३ १५:३७ आइतबार




-600x400.jpg)
