भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक नीलबाराही क्षेत्र जोगाउने विषयमा मध्यपुर थिमि नगरपालिका र स्थानीयबिच विवाद उत्पन्न भएको छ । स्थानीयले जनश्रमदान आह्वान गरी मन्दिर जोगाउने कार्य गर्दै आएका थिए । तर प्रशासन तथा नगरपालिकाले माटो ओसारपसार गर्न रोक लगाएपछि जनश्रमदान कार्य फितलो बन्न पुगेको छ ।
श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिको अगुवाइमा मन्दिर जोगाउने भन्दै मन्दिर वरपर सवैतिर बोरामा माटो भरेर जग बसाउन जनश्रमदान चल्दै आएको थियो । तर यसअघि माटो ल्याउँदै गरेको चाँगुनारायण नगरपालिकाबाट माटो ओसारपसारमा रोक लगाइदिएको छ । यसअघि नगरपालिका क्षेत्रका एक जना व्यक्तिले माटो दिँदै आएका थिए। त्यसका लागि चाँंगु नपाले अनुमति दिँदै आएको थियो । तर अहिले स्थानीय प्रशासन लगायतसँंग छलफलपछि माटो ओसारपसार बन्द गरिदिएको छ । व्यक्तिको जग्गाको माटो भए पनि एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न स्थानीय निकायसँग अनुमति लिनुपर्ने व्यवस्था यहाँं छ ।
मध्यपुर थिमि नगरपालिका र स्थानीयबिच यसअघि नै मनमुटाब थियो । नगरपालिकाले सरकारी बजेटबाटै काम गर्ने बताउँदै आएको थियो । तर दस वर्ष बित्दा पनि कुरा मात्रै गरेको काम नगरको भन्दै स्थानीयले श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समिति गठन गरी जनश्रमदानको काम थालेका थिए ।
स्थानीयले दजनाै गाडीहरू राखेर दैनिक सयौँ टिप माटो ल्याएर काम गर्दै आएका थिए । तर अहिले माटो ल्याउन बन्द गरिदिएको स्थानीयको काममा अवरोध सृजना गरिदिएको हो ।
माटो ल्याउन बन्द गरे पनि स्थानीयले जनश्रमदानलाई नरोक्ने बताउँदै आएका छन्। माटो विना जनश्रमदान नहुने भएकाले श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिले कसैको घर आदि इत्यादि भत्काइ माटो फाल्नुपर्ने छ भने नीलबाराही क्षेत्रमा ल्याउन आग्रह गरेको छ ।
विवादपछि शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका र श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिबिच छलफल हुने कार्यक्रम थियो । तर छलफल सुरु नभई टुङ्गियो । छलफलका लागि मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, उपमेयर विजयकृष्ण श्रेष्ठ, सिडिओ, सहायक सिडिओ, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका पदाधिकारीहरू बिहानै छलफल स्थल नीलबाराही पुगेका थिए । तर उनीहरु समय नभएको भन्दै एकछिनमै हिँडेका थिए । त्यही कारण एक आपसमा राम्ररी छलफल नै नसकी जनप्रतिनिधिहरू छुटिन हतारमा दौडिए । जनश्रमदानको लागि हिँडेका अभियन्ताहरूमध्ये एक भक्तपुरका सूर्य श्रेष्ठ नगरपालिकाका प्रतिनिधिहरूलाई नीलबाराहीसम्म ल्याउन हजार कोसिस गरेर सफल भएको तर कुनै निष्कर्ष विना नै कुराकानी सकिएको बताए ।
प्रकाशित: १७ श्रावण २०८२ १७:५४ शनिबार





