बाराको निजगढमा प्रस्तावित दोस्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य कछुवा गतिमा पनि अगाडि बढ्न सकेको छैन। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि नबढ्नुको मुख्य कारण सरकारले ठोस बजेट विनियोजन नगर्नु हो। अन्य कारणमा वातावरणीय र कानुनी अड्चन पनि छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल नागरिक उड्डयन प्राधिकरणको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा विमानस्थल निर्माणका लागि ठुला, साना र मझौला गरी करिब २४ लाख रूख कटान गर्नुपर्ने तथा एक हजार चार सय घरधुरी स्थानान्तरण गर्नुपर्ने उल्लेख छ। साथै वन फँडानी, जलस्रोत, जैविक विविधता, वन्यजन्तुको बासस्थान र स्थानीय बस्तीमा पर्ने प्रभावले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विगतदेखि नै विवादमा पर्दै आएको छ।
मुआब्जा वितरण, कानुनी जटिलता, वातावरणीय प्रश्न र निर्माण प्रक्रियासम्बन्धी विवादका कारण आयोजना पटकपटक अवरुद्ध हँुदै आएको छ। सरकारले पटकपटक राष्ट्रिय गौरवको आयोजनाका रूपमा परियोजनालाई पुनर्जीवित गर्ने प्रयास गरे पनि संरक्षणकर्मी, वातावरणविद् र हवाई क्षेत्रका विज्ञहरूले त्यसको आवश्यकतामाथि प्रश्न उठाउँदै आएका छन्। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन वर्तमान सरकारले भने बजेट छुट्याएको इन्जिनियर सुनिलकुमार दासले बताए। आफू भर्खरै सरुवा भएर आएको प्रतिक्रिया दिँदै इन्जिनियर दासले अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य कुन मोडेलमा अगाडि बढाउने भन्ने विषयमा बहस चलिरहेको बताए।
यसअघि सर्वोच्च अदालतले वातावरणीय क्षति गम्भीर हुने निष्कर्षसहित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सरकारी निर्णयहरू बदर गर्दै वैकल्पिक विकल्प अध्ययन गर्न सरकारलाई निर्देशन दिएको थियो। अदालतले वन क्षेत्रको न्यूनतम उपयोग, वन्यजन्तुको संरक्षण, क्षतिपूर्तिस्वरूप वृक्षरोपण तथा वन क्षेत्रमा ‘एयरपोर्ट सिटी’ निर्माण नगर्नेलगायत सर्त पूरा गरेपछि मात्रै आयोजना अघि बढाउन सकिने बताएको थियो।
विभिन्न सरकारले निजगढ विमानस्थललाई नेपालको दीर्घकालीन हवाई पूर्वाधार विकासको आधारस्तम्भका रूपमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०६६÷६७ देखि नै सरकारी नीति तथा कार्यक्रममा समावेश भएको यो आयोजना माधवकुमार नेपाल, केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललगायत पूर्वप्रधानमन्त्रीहरूले पटकपटक निर्माण गर्ने प्रतिबद्धता दोहो¥याउँदै आए पनि निर्माण कार्य ज्यूँका त्यूँ छ।
प्रकाशित: ३१ असार २०८३ ०९:५८ बुधबार





