राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी र खोला किनारका सडक (कोरिडोर सडक)मा आज साँझ ६ बजेबाट भोलि बिहान ६ बजेसम्म सवारी आवागमन रोक्न आग्रह गरेको छ। शनिबार जारी सूचनामा प्राधिकरणले उपत्यकासहित देशका विभिन्न भागमा लगातार भारीदेखि अति भारी वर्षा भइरहेकाले नदी र खोला किनारका सडक डुबानमा पर्ने जोखिम उच्च रहेको जनाएको छ।
सूचनामा भनिएको छ, “सम्भावित जोखिम कम गर्न काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (कोरिडोर सडक)मा आज साँझ ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउनु हुन अनुरोध छ।”
प्राधिकरणले वर्षाको मात्रा राति अझ बढ्ने सम्भावना रहेको बताउँदै नदी र खोलामा पानीको तह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। यसअघि पनि लगातार वर्षाका कारण वाग्मती, विष्णुमती, धोबी खोला र मनोहरा कोरिडोर सडकहरूमा डुबान र क्षतिको जोखिम देखिँदै आएको छ।
प्रकाशित: १८ आश्विन २०८२ १७:२७ शनिबार





