७ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी चलाउन रोक

फाइल तस्बिर

भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती सडकमा सवारी सञ्चालनको समय निर्धारण गरिएको जानकारी दिए।

उनका अनुसार असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चौघडाबाट काठमाडौंतर्फ सवारी प्रस्थान गर्न दिइनेछ।

त्यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौंतर्फ तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्रभञ्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइने उनले बाताए।

सुवेदीका अनुसार कान्ति राजमार्ग र भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

भारी वर्षाका कारण बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तोकिएको समयभित्र मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: ७ आश्विन २०८३ १७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App