नेपालगन्ज–पोखरा सिधा हवाई सेवा बन्द भएपछि यात्रुहरूलाई आवतजावतमा ठूलो सास्ती भएको छ। निजी वायुसेवा कम्पनी बुद्ध एयरले २०७८ साल साउनदेखि केही समय दैनिक एक उडान सञ्चालन गरेपछि त्यसलाई हप्तामा तीन उडानमा सीमित गरेको थियो। तर सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै भाडा महँगो हुँदा पर्याप्त यात्रु नपाएपछि कम्पनीले करिब एक महिनाअघि उक्त सेवा बन्द गरेको हो।
उडान बन्द भएसँगै विशेषगरी बर्खायाममा पोखरा जाने यात्रुहरू जोखिमपूर्ण स्थलमार्ग प्रयोग गर्न बाध्य भएका छन्। लगातारको वर्षासँगै पहिरोका कारण सडक पटक–पटक अवरुद्ध हुने भएकाले यात्रुहरूले कठिनाइ खेपिरहेका छन्। भारतका विभिन्न सहरबाट नेपालगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरू पनि सहज रूपमा पोखरा पुग्न नसक्दा स्थलमार्गकै सास्ती व्यहोर्न बाध्य भएका छन्।
इन्धन महँगिएपछि भाडा बढ्यो, यात्रु घटे
बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहका अनुसार नेपालगन्ज–पोखरा उडानको न्यूनतम हवाई भाडा पहिले ५ हजार २ सय रुपैयाँ थियो। हवाई इन्धनको मूल्यवृद्धिपछि भाडा बढाएर ८ हजार २ सय रुपैयाँ पुर्याइएपछि यात्रुको संख्या उल्लेख्य रूपमा घटेको थियो।
उनका अनुसार तत्काल उडान पुनः सञ्चालन हुने सम्भावना देखिएको छैन। यद्यपि आगामी असोज महिनासम्म यात्रुको अवस्था मूल्याङ्कन गरेर सेवा पुनः सञ्चालन गर्ने विषयमा कम्पनीले विचार गर्न सक्ने भए पनि हालसम्म कुनै निर्णय भएको छैन।
‘यात्रुको माग बढे कम्पनीले पुनर्विचार गर्न सक्छ, तर अहिले कुनै निर्णय भएको छैन,’ शाहले भने।
सुविधासम्पन्न टर्मिनल तयार, तर उडान घट्दै
नेपालगन्ज विमानस्थलले हालैदेखि अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको नयाँ टर्मिनल भवनबाट सेवा दिइरहेको छ। गत वैशाख १५ गतेदेखि सञ्चालनमा आएको यो भवन अन्डरग्राउन्डसहित ५५ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको तीन तले संरचना हो।
तीन वटा ब्लकसहित जहाज पार्किङ क्षेत्र, सवारी पार्किङ, गेष्ट हाउस, ढल व्यवस्थापन, बगैँचा, फुटपाथ तथा शौचालयलगायतका संरचना निर्माण गर्न भ्याटबाहेक २ अर्ब ७२ करोड रुपैयाँ खर्च गरिएको थियो। भवनमा एकैपटक ६ सय ९८ जना यात्रु बस्न सक्ने क्षमता रहेको छ।
तर संयोगवश नयाँ टर्मिनल सञ्चालनमा आएलगत्तै नेपालगन्ज–पोखरा सिधा उडान बन्द भएको छ।
भाडा बढेपछि अधिकांश कम्पनीले उडान कटौती गरे
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सन्तोषकुमार पोखरेलका अनुसार पछिल्लो समय इन्धनको मूल्यवृद्धि, हवाई भाडा महँगिनु र यात्रु घट्नुका कारण अधिकांश वायुसेवा कम्पनीले उडान कटौती गरेका छन्।
‘इन्धनको मूल्य बढेपछि विमान कम्पनीहरूले भाडा बढाए, भाडा बढेपछि यात्रुको चाप घट्यो। कतिपय कम्पनीले उडान संख्या नै घटाएका छन् भने बुद्ध एयरले नेपालगन्ज–पोखरा सेवा नै बन्द गर्यो,’ उनले बताए।
पर्यटन क्षेत्र चिन्तित
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका पूर्वअध्यक्ष तथा पर्यटन व्यवसायी श्रीराम सिग्देलका अनुसार नेपालगन्ज–पोखरा उडान बन्द हुँदा यात्रु मात्र होइन, पर्यटन क्षेत्र पनि प्रत्यक्ष प्रभावित भएको छ।
उनले सुरुमा नाट्टा बाँकेले चार्टर उडान सञ्चालन गरेपछि नै बुद्ध एयरले नियमित सेवा सुरु गरेको स्मरण गर्दै सरकारले नेपालगन्जलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास नगरे भविष्यमा यसको महत्व नै घट्ने चेतावनी दिए।
‘अहिले जहाजको उडान घटेको छ, यात्रु संख्या पनि कम भएको छ। अन्तरप्रदेशीय उडान छैन, भएका उडान पनि कटौती भएका छन्। नेपालगन्ज विमानस्थल सरकारको प्राथमिकतामै परेको देखिँदैन,’ उनले भने।
उडान पुनः सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता
नेपालगन्ज विमानस्थलको स्तरोन्नति र उडान विस्तारको माग स्थानीय राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधिले लामो समयदेखि उठाउँदै आएका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेका सभापति विवेककुमार श्रेष्ठले विमानस्थलको पूर्वाधार विस्तार भइसकेकाले अब त्यसको पूर्ण उपयोग हुने गरी उडान विस्तार गर्नुपर्ने बताए। उनले बन्द भएको नेपालगन्ज–पोखरा सिधा उडान पुनः सञ्चालनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
‘नेपालगन्जबाट अन्तरप्रदेशीय उडान विस्तार गर्नुपर्छ। नेपालगन्ज–पोखरा उडान स्थायी रूपमा बन्द हुनु हुँदैन,’ उनले भने।
दिल्ली उडानको माग पनि
नागरिक अगुवा तथा नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडियाले नेपालगन्ज विमानस्थल पश्चिम नेपालको प्रमुख हवाई प्रवेशद्वार भएकाले यसको व्यावसायिक विस्तार अपरिहार्य भएको बताए।
उनका अनुसार भारतबाट मानसरोवर तीर्थयात्रामा जाने धेरै यात्रुले पनि नेपालगन्ज विमानस्थल प्रयोग गर्ने भएकाले सरकारले यसलाई रणनीतिक महत्वका साथ विकास गर्नुपर्ने आवश्यकता छ।
‘नेपालगन्जलाई अन्तरप्रदेशीय उडानसँगै नेपालगन्ज–दिल्ली सिधा उडानमार्फत पनि जोड्नुपर्छ। विगतमा नेपालगन्ज–पोखरा उडानले दुई प्रदेशलाई जोड्दै पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिएको थियो। यो सेवा बन्द हुनु अन्ततः राज्यकै लागि घाटाको विषय हो,’ डा. कनोडियाले बताए।
प्रकाशित: ३ श्रावण २०८३ १७:०६ आइतबार





