नेपाल सम्वत् ११४६ को अवसरमा बुधबार ताप्लेजुङमा शुभकामना आदान–प्रदान तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएका छन्।
नेपाल भाषा तथा साँस्कृतिक समाजले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नेपाल सम्वत्को मौलिक सम्वत भएको बताए। उनीहरूले नेपाल सम्वत्लाई मौलिक, सामाजिक र ऐतिहासिक महत्वको भनेर चित्रित गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरप्रमु अमिर मादेनले आर्थिक वर्ष २०८३।८४ को बजेटबाट भिन्तुना डाँडामा राष्ट्रिय विभूति शंखधर साख्वाको धर्ककदको शालिक निर्माणका लागि बजेट विनियोजन गरिदिने बताए। उनले मुख्य दलहरूप्रति जनतामा रहेको निराशा चिरेर जनताका बिचमा जानुको विकल्प नभएको समेत बताए।
फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले नेपाल सम्वत् र म्ह पूजाको विशेषता र महत्वको चर्चा गरिन्। आत्मालाई सन्तुष्ट राख्न सके देवीदेवता खुसी भएर आशीर्वाद दिने जनविश्वास जस्तै प्रत्येक व्यक्ति आत्म सन्तुष्ट बन्न सके खुसी र सुखी हुने उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले नेपाल जातजाति, भाषा, संस्कार र संस्कृतिले सम्पन्न भएको स्मरण गर्दै नेपाल सम्वत्को ख्याति र प्रसिद्धी कायम राख्न प्रत्येक समय र कालखण्डमा नेपाल सरकारले उचित र विशेष महत्व दिएको बताए। नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी र प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष युवराज गिरीसहितले आ–आफ्नो धारणा राखेका थिए। यसअघि नेपाल भाषा तथा साँस्कृतिक समाजको अगुवाइमा नयाँ वर्षको शुभकामनासहित नगर परिक्रमा गरिएको थियो।
इ.सं ८८० अर्थात् विक्रम् सम्वत ९३७ मा संखधर साख्वाले गरिव जनताको ऋण मोचन गरी नेपाल सम्वत्को सुरुआत गरेका थिए। सरकारले २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। तीनै तहका सरकारका आधिकारिक कागजातहरूमा अहिले नेपाल सम्वत् लेख्ने गरिएको छ। २०६५ सालमा नेपाल सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिएको थियो।
प्रकाशित: ५ कार्तिक २०८२ १५:२५ बुधबार





