भक्तपुरको ठाउँठाउँमा नेपाली सेना परिचालन हुन थालेको छ। महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा एक ट्रक नेपाली सेना पुगेर सुरक्षा दिन थालेको हो।
प्रहरी चौकी कब्जामा लिएर नेपाली सेना परिचालित भएको छ। यसअघि हिजो आन्दोलनकारीहरूले जगाती प्रहरी वृत्त सबै जलाएर ध्वस्त पारेको थियो। साथै त्यहाँका सबै बन्दुकहरू पनि आन्दोलनकारीले कब्जामा लिएका थिए। त्यही कारण बिहानसम्म चौकी सुनसान जस्तै थियो। सर्वसाधारणको मात्रै ठूलो भीड लागेको थियो।
जगातीसहित सूर्यविनायक क्षेत्रमा पनि सेना परिचालित भएको छ। सेनाले माइकिंग गर्दै सबैलाई आ-आफ्नो घरभित्र जान र बाहिर ननिस्कन अनुरोध गरेको छ। साथै त्यहाँं पनि नेपाली सेना ठाउँठाउँमा परिचालित भएका छन्। झुण्डझुण्डमा सडकको चारैतिर सेना परिचालित हुन थालेका छन्। सेनाहरू ठाउँठाउँमा गई माइकिंग गर्दै भित्र जान अनुरोध गरिरहेका छन्। यही कारण विहान खुलेका पसलहरू पनि बन्द हुन थालेका छन्। साथै बाहिर निस्केका मानिसहरू पनि भित्र जान थालेका छन्।
परिचालित नेपाली सेनाले सबैलाई घरभित्र जान भनिरहेको छ। कसैलाई पनि फोटो भिडियो पनि खिच्न मनाही गरिरहेको छ। प्रेसलाई पनि फोटो भिडियो खिच्न मनाही गरेको अवस्था छ। कसैले खिचेको फोटो भिडियो पनि प्रेसलाई पनि डिलिट गर्न लगाइएको छ।
प्रकाशित: २५ भाद्र २०८२ १०:२२ बुधबार





