१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख ७१ हजार मुद्रासहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका एक कर्मचारी ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी  विदेशी तथा नेपाली मुद्रासहित पक्राउ परेका छन्।  

नेपाल एयरलाइन्समा ग्राउन्ड इक्विपमेन्ट अपरेटर (जिइओ) का रूपमा कार्यरत ५० वर्षीय कमल नारायण विश्वास पक्राउ परेका हुन्। सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भएका विश्वास हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्।  

प्रहरीका अनुसार उनी मलेसियाको क्वालालम्पुर जानका लागि बाटिक एयरको उडान नम्बर ओडी–१८१ मार्फत प्रस्थान गर्ने क्रममा सुरक्षा जाँचमा परेका थिए। शरीर तथा सामानको खानतलासी गर्दा उनले लगाएको कालो रंगको लोन्जनभित्र विभिन्न देशका मुद्रा लुकाइराखेको अवस्थामा फेला परेको थियो।  

बरामद मुद्राको कुल नेपाली मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा रहेको प्रहरीले जनाएको छ। बरामद रकममा अमेरिकी डलर, ओमानी रियाल, पाकिस्तानी रुपैयाँ, मलेसियन रिङ्गिट, श्रीलंकाली रुपैयाँ, जापानी येन, पश्चिम अफ्रिकी फ्राङ्क तथा नेपाली रुपैयाँ समावेश छन्। 

अनुसन्धानका क्रममा विगतमा पनि उनले विभिन्न समयमा १६ पटकसम्म विदेशी मुद्रा बोकेर यात्रा गरेको विवरण फेला परेको प्रहरीको दाबी छ। 

प्रकाशित: २१ जेष्ठ २०८३ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App