२२ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

बालिका अंशुको बलात्कारपछि हत्या आरोपमा छिमेकी पक्राउ

मोरङको लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले छिमेकी एक जनालाई पक्राउ गरेको छ।

अंशुलाई बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। उनले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकालाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरेको बताए।

अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएर बेपत्ता भएपछि कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर क्षतविक्षत अवस्थामा फेला परेकी थिइन्।

असोज २१ गतेदेखि हराएकी भए पनि प्रहरी कहाँ २२ गते मात्रै खबर आएको बताउँदै एसपी कटवालले भने, ‘बच्चा हराएको खबर पाउनासाथ सबै प्रहरी युनिटलाई खबर गरेर खोजतलास गर्न सर्कुलर गरेका थियौं। तुरुन्तै सेनासहित प्रहरी टोली जंगलमा खोजी कार्य गरेका थियौं। कहीँकतै फेला वा शंकासम्म नभएपछि लामो अनुसन्धानपछि घटनाको यर्थाथ बाहिर आएको हो। डिएसपीको नेतृत्वमा घटनाको अनुसन्धान गर्न सिबिआई, प्रदेशको टोली र जिल्ला प्रहरी कार्यालयको टोली घटना भएदेखि नै त्यहीँ बसेर सुक्ष्म तवर अनुसन्धानमा लागेको थियो। आज अनुसन्धान एक चरणको पूरा भएको र घटनामा संलग्न भएकालाई पक्राउ गर्न सफल भयौं।’

'घटनास्थित हेर्दा सुरुवातबाटै अंशुको बलात्कारपछि हत्या गरेको हुनुपर्ने देखिएको थियो। दुवै घटनालाई साथसाथै लिएर अनुसन्धान अघि बढाएका थियौं,' एसपी कटवालले भने, ‘प्रारम्भिक अनुसन्धानकै क्रममा घटना आफूले गराएको अधिकारीले स्वीकार गरी सकेका छन्। उनले बलात्कार गरेपछि हत्या गरेको स्वीकार गरे। अहिलेसम्म घटनामा उ एक्लै देखिए पनि अरु कोही संलग्न छ कि भनेर थप अनुसन्धान गरिरहेका छौं।’ 

बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर छुट्टिएको तथा क्षतविक्षत एवं सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको हो। घरबाटै हराएकी बालिकाको शव १८ दिनपछि घरभन्दा करिब ४ किलोमिटर टाढा चारकोशे झाडी (जंगल)को बीचमा सबै वस्त्र अलग र शरीर, टाउको अलग भएको अवस्थामा कंकालको रूपमा फेला परेको थियो।

अंशुको शव नै सडेको अवस्थामा भेटिएकाले घटनाको निष्कर्षमा पुग्न प्रहरीलाई कठिन भइरहेको थियो। शव कुहिएका कारण धेरैजसो प्रमाणहरु नष्ट हुँदा प्रहरीलाई यो घटना टाउको दुखाइको विषय बनेको थियो।

घरबाट हराएकै दिन अंशुको हत्या भएको र पछि शव फेला परेको प्रहरीको भनाइ छ। तर, अभिभावकसँगको पुरानो रिसईबीका कारण नियोजित र"पमा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटना अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको बताउँदै एसपी कटवालले भने, ‘जंगलको बीच भागमा १८ दिनपछि एकदमै सडेगलेको अवस्थामा शव फेला पर्यो। यस कारण अनुसन्धान गर्न ढिलो भएको हो। हामीलाई वैज्ञानिक परीक्षणका लागि केही समस्या भएको थियो। सबै पक्षलाई नछुटाइ सूक्ष्म अनुसन्धानका क्रममा तीन सयभन्दा बढी व्यक्तिहरूको प्रोफाइलिन (शंकास्पदहरूको सूचीकरण), केही व्यक्तिलाई पोलिग्राफ परीक्षण, प्राविधिक विश्लेषण र फरेन्सिक जाँचपछि मात्र घटनामा संलग्नलाई पक्राउ गर्न सफल भयौं।’

पोस्टमार्टम रिपोर्ट, डिएनए परीक्षण, फरेन्सिक ल्याबको रिपोर्टहरू आउन बाँकी रहेको र त्यो रिपोर्ट सबै आएपछि घटनाका सम्बन्धमा केही कुरा आउने प्रहरीले जनाएको छ।

असोज २१ गते अंशु आफ्नी एक साथीसँग खेलिरहेकी थिइन्। अधिकारीले ती साथीलाई पाँच रुपैयाँ दिएर दिदीलाई खोजेर ल्याउन अह्राएका थिए। अंशुको साथी गएपछि, ‘घाँस काट्न सहयोग गर’ भनेर जंगलको मुखमा भेट्न बोलाएका थिए। अंशु र पदम अलग अलग बाटो हुँदै जंगलको मुखसम्म पुगेका थिए। अंश पुग्नअघि जंगलको मुखमा साइकल लिएर अधिकारी पुगेर पर्खेर बसेको र त्यहाँबाट अधिकारीले अंशुलाई साइकलको पछाडि राखेर जंगलको बीच भागतर्फ लगेका थिए।

घरबाट करिब साढे ४ किलोमिटरभित्र घना जंगलको बीच भागमा लगेर जबरजस्ती करणी गरेको र पोल खुल्ने डरले घाँटी थिचेर तथा घाँस काट्न भनी लगेको हँसियाले घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कटुवालले बताए। घटना घटाएपछि आफूमाथि शंका नहोस् भनेर अधिकारी अंशुको खोजीमा पनि खटिएका थिए। त्यसपछि केही दिन गाउँमै सामान्य रूपमा बसेका थिए। त्यसपछि अधिकारी काम गर्न भन्दै भारतको मेघालय पुगेका थिए। प्रहरीले बोलाएपछि उनी घर फर्किएको र घर फर्केपछि पक्राउ परेका हुन्। अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको कक्षा–५ मा अध्ययनरत थिइन्।

प्रकाशित: २१ मंसिर २०८२ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App