राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर भारीदेखि अति भारी वर्षाका कारण राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राखेर खानपान, स्वास्थ्योपचार र अन्य आवश्यक सुविधा उपलब्ध गराउन आग्रह गरेको छ।
शनिबार प्राधिकरणले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुहरूको व्यवस्थापनका लागि स्थानीय तह, यातायात व्यवसायी तथा सरकारी–गैरसरकारी संस्थासँग समन्वय गरी आवश्यक सहयोग गर्न निर्देशन दिएको हो।
सरकारले असोज २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य जोखिमको कारण लामो दूरीका सवारीसाधनको आवतजावतमा रोक लगाएको थियो।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार, रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही यात्रु राजमार्गमै रोकिएको जानकारी प्राप्त भएपछि तत्काल यस्तो आग्रह गरिएको हो।
प्रकाशित: १८ आश्विन २०८२ १७:४१ शनिबार





