५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

सधैं जोखिममा नारायणगढ-मुग्लिन खण्ड

चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार र आइतबार राति १० बजेदिखि नारायणगढ–मुग्लिन सडकखण्ड र राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगायो। भारी वर्षाको पूर्वानुमानपछि बढी दुर्घटना हुन सक्ने क्षेत्रमा रातिमा सवारी चलाउन रोक लगाइएको हो। बर्खा लागेसँगै चितवन हुँदै राजधानी प्रवेश गर्ने सडक पहिरोको उच्च जोखिममा छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार गत असोजयता नारायणगढ–मुग्लिन खण्ड पहिरोका काराण १७ पटकसम्म अवरुद्ध भएको छ। यस अवधिमा ३३१ घण्टा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए। ‘चितवन भएर राजधानी जाने सडक ज्यादै जोखिममा छन्। नारायणगढ–मुग्लिन खण्ड र चितवनमा पर्ने पृथ्वी राजमार्गमा १० महिनामा सडक अवरुद्ध हुने गरी १७ पटक पहिरो खसेको छ,’ उनले भने, ‘सवारी दुर्घटनाका कारण सडक अवरुद्ध त धेरै पटक हुन्छ।’

उनका अनुसार असारमा मात्रै यो खण्डमा चार पटक पहिरो खसेको छ। यस अवधिमा १४ घण्टा सडक अवरुद्ध भएको छ।

सबैभन्दा बढी पहिरो इच्छाकामना गाउँपालिका–५ को तुइनखोला क्षेत्रमा खस्छ। अहिले पनि जोखिम बढेकाले रातिको समयमा सडक बन्द गरिएको हो। असार २९ गते इच्छाकामना–३ स्थित पृथ्वी राजमार्गको स्याउली बजारमा सुक्खा पहिरो खस्दा दुई घण्टा दुईतर्फी सडक अवरुद्ध भयो।

नारायणगढ–मुग्लिन खण्ड र मुग्लिनपछि चितवनमा पर्ने पृथ्वी राजमार्गमा बारम्बार पहिरो खस्दा सवारी आवागमन प्रभावित भइरहेको छ। यसक्रममा कैयौं यात्रु घाइते भएका छन्। विशेष गरी यो स्थानमा सडक विस्तारपछि पहिरो खस्ने क्रम रोकिएको छैन। नारायणगढ–मुग्लिन खण्डको दासढुंगादेखि मुग्लिनसम्मको २४ किलोमिटर सडक पनि पहिरोको उच्च जोखिममा छ।

यो खण्डमा उच्च जोखिमका २० वटा क्षेत्र छन्। १५ किलो, १६ किलो, १७ किलो, १८ किलो, मौरी टोल, सेती दोभान, सिमलताल, घुमाउने, चोरखोला, नाम्चे पुल, कालीखोला, टोपेखोला क्षेत्रमा पहिरो खसिरहन्छ। पहिरो पन्छाउन दुई स्थानमा जेसिबी र एस्काभेटर राखिएको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले बताए। सेती दोभान क्याम्पमा एक्साभेटर, लोडर, जेसिबी र ट्रेलर राख्ने गरिएको छ। त्यस्तै मुग्लिन बजारमा एउटा लोडर राखिएको जानकारी उनले दिए।

पृथ्वी राजमार्गको मौवाखोला क्षेत्र पनि बाढीपहिरोको उच्च जोखिममा छ। यहाँ बाढीपहिरोको जोखिम रोक्न सडक विभागले १ अर्ब रुपैयाँहाराहारी खर्च गरेको छ। जोखिम भने कायमै छ।

 विभागले जोखिम क्षेत्रमा ३० हजार वर्गमिटरमा पहिरो रोकथामको काम गरेको थियो। फलामे रड गाडेर ससाना ढुंगा तथा गेग्रान छोप्न (रक नेटिङ) र ठुला चट्टान खस्न नदिन ८ मिटर गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने (रक बोल्टिङ) काम भएको थियो।

दासढुंगादेखि मुग्लिनसम्मका जोखिम क्षेत्रमा पहिरो रोक्न तार, रडलगायतका सामग्री प्रयोग गरिएको थियो। १५ किलो, १८ किलो, घुमाउने, भालुढुंगा, जलविरे, चार किलो, टोपेखोला र कालीखोला नजिक पहिरो रोकथामको काम भएको थियो।

रक बोल्टिङ र रक नेटिङ गरिएको ठाउँमा अहिले पहिरो खसेको छैन। नयाँ ठाउँबाट पहिरो खसिरहेको इन्जिनियर घिमिरे बताउँछन्। अहिले सबैभन्दा बढी तुइन खोलामा पहिरो खसेको छ। त्यहाँ पहिरो रोकथामका लागि ठेक्का सम्झौता भएको उनले बताए। उनका अनुसार असार ३१ गते २२ करोड २१ लाख रुपैयाँमा ठेक्का लगाइएको छ। यो काम भएपछि तुइन खोलाको समस्या समाधान हुने आशा गरिएको उनले बताए। तुइन खोलामा गत असोज ६ गते पहिरो खस्दा ५६ घण्टासम्म सडक अवरुद्ध भएको थियो। असोज ३ गते सोही स्थानमा पहिरो जाँदा ४५ घण्टा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ।

अहिले पृथ्वी राजमार्गको मुग्लिनदेखि नौबिसेसम्म सडक विस्तारको काम भइरहेकाले पनि पहिरो खस्ने जोखिम उत्तिकै छ।

प्रकाशित: ४ श्रावण २०८३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App