१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

४२ वर्षदेखि चुल्हो बनाउँदै नरबहादुर

जुम्लाकाे मंसिर महिनाको चिसो हावा चिरेर कार्कीबाडा, कामिटोलमा हताैडको ‘ट्र्याङ–ट्रुंग’ आवाज घन्किन्छ। त्यो आवाज ७१ वर्षीय नरबहादुर सुनारको हो, जो विगत ४२ वर्षदेखि आधुनिक धुँवारहित चुल्हो बनाउँदै परिवार, भविष्य र आफूले बिछ्याएको जीवन धानेका छन्।

उनले चलाउने सानो ‘वर्कसप’ हो। आधुनिक हिटर चुल्हो वर्कसप। सुनारका हात चल्दै जाँदा जस्तै धुँवा हट्दै जान्छ। घरभित्र र जीवनमा पनि २०४० तिर भोटे व्यापारीले ल्याएको आधुनिक चुल्हो देखेपछि उनीभित्र कौतुहलता जाग्यो। 'यस्तै चुल्हो त गाउँमै बन्न सक्ला नि!' यही उत्सुकताले सुरु गराएको यात्रा आज उनको सम्पूर्ण पहिचान बनेको छ। 

लगत्तै २०५२ मा इसिमोड संस्थाले उनलाई काठमाडौंसम्म तालिमका लागि लगेपछि भने कामले नयाँ मोड लियो। 'बाहिरबाट तयारी चुल्हो फिट गर्न सजिलो पर्छ, तर स्थानीय चुल्हो बनाउन समय धेरै चाहिन्छ,' उनी भन्छन्, 'तर आफैँले बनाएको चुल्होले त सन्तोष बेग्लै दिन्छ।'

नेपालगन्ज–सुर्खेतबाट आउने चुल्होलाई उनी आज पनि ‘विकासे चुल्हो’ नै भन्छन्। गाउँमा ग्यासको प्रयोग बढ्दै गए पनि उनी आफ्नो सीपमा ढुक्क छन्। 'ग्यास चुल्होले असर त पारेकै छ, त्यसमाथि चुल्हो बनाउने मान्छे पनि बढ्दै छन्,' उनी चिन्ता व्यक्त गर्छन्। तर सीप राम्रो भएकाले उनलाई अर्डर रोकिँदैन। उनी महिनामा ४०–४५ हजार रुपैयाँसम्म कमाउँछन्।

सीप बलियो भएको मान्छेलाई ग्राहक कहिल्यै कम हुँदैन। जुम्ला जस्तै चिसो ठाउँका लागि बनेको ‘हिटर चुल्हो’ अहिले उनको मुख्य पहिचान बनेको छ। सुनारले बनाएका स्थानीय चुल्हो जुम्लाका सबै स्थानीय तहमा मात्रै होइन, कालिकोट, डोल्पा, हुम्ला, सुर्खेत, दैलेख, जाजरकोट, मुगु हुँदै काठमाडौं, धरान, बुटवल, रामेछाप, पोखरा र नेपालगन्जसम्म पुग्ने गर्छन्। 'पहिले त फोन नै हुन्थेन, रैबार पठाएर अर्डर गर्थे,' उनी सम्झिन्छन्, 'अहिले फोनमा नै भन्छन्, ‘यति मूल्यको चुल्हो चाहियो’। बनाइदिन्छु, पैसा दिन्छन्, खुशीले लिएर जान्छन्।'

स्थानीय सामग्री प्रयोग गरी बनाइने चुल्हो ३ हजार ५ सयदेखि ९ हजार रुपैयाँसम्म पर्छ। बाहिरबाट ल्याएपछि जुम्लामै फिट गरिने चुल्हो ६ हजार ५ सयदेखि १० हजार रुपैयाँसम्म। आकार, मोटाइ, डिजाइन र हीटिङ क्षमता मूल्य निर्धारणका आधार यही हुन्। जस्तापाता नेपालगन्जबाट आउँछ, पाइप भने गाउँमै बनाइन्छ। त्यसपछि मात्रै चुल्होले आफ्नो ‘घर’ फेला पार्छ।

यता जुम्लाको दुर्गम पातारासी गाउँपालिका–५ लासीकी मुना बुढा दुई वर्षअघिदेखि सुनारको स्थायी ग्राहक हुन्। ६ हजार ५ सय तिरेर किनेको चुल्होबाट उनी निकै सन्तुष्ट छिन्। 'यहाँ बनेको चुल्हो सस्तो पनि पर्छ, बलियो पनि,' मुना भन्छिन्, 'आफूलाई फेरि चाहियो भने यहीँ आउँछु।' धेरै पहिला उनकी जेठानी र कान्छी आमाले ९ हजार ५ सय तिरेर ठूलो चुल्हो लिएको उनले सुनाइन्।

'सिजन अनुसार बिक्री धेरै हुन्छ, त्यसैले उनीहरू पहिले बनाइराख्छन्,' उनले थपिन्। सुनार आधुनिक डिजाइनका ‘हिटर चुल्हो’, पाइपदेखि विभिन्न प्रकारका स्थानीय चुल्हो बनाउँदै आएका छन्। समय बदलिए पनि उनी पुरानै जोशमा सकभर सबैलाई धुँवारहित, सुरक्षित र टिकाउ चुल्हो दिन व्यस्त छन्। 'केटाकेटी पढाउन, घर चलाउन, सबै यही चुल्होले सम्भव भयो,' उनी आफ्नो चार दशकीय यात्राको हिसाब गर्दै भन्छन्। धुँवा हटाउने चुल्हो बनाउँदै उनी आफैँ धेरैको जीवनको धुँवा हटाइदिन्छन्। याे नै सायद उनको सीपको सबैभन्दा ठूलो ताप हो।

प्रकाशित: २७ मंसिर २०८२ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App