१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

बाँकेमा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइयो

मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ।  

बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्ने क्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ ले निर्दिष्ट गरेको प्रक्रियाअनुसार २०८३ भदौ १५ गतेसम्म सङ्कलन तथा अद्यावधिकका लागि प्राप्त विवरण समावेश गरी उक्त नाम हटाइएको हो।

'मृत्यु भएको भनेर स्थानीय तहले प्रमाणित गरेर पठाएपछि मृत्यु भएका र दुई जिल्ला वा दुई स्थानमा दोहोरो नामावली फेला परेका मतदाताको नाम हटाइएको छ', प्रमुख शाहीले भने। मतदाता नामावली अद्यावधिक गर्दा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकाबाट मात्रै ८२० जनाको नाम हटाइएको छ।

त्यस्तै, कोहलपुर नगरपालिकाबाट ७६६ जना, राप्तीसोनारी  ३७१, डुडुवा, १७७, खजुरा ३२०, बैजनाथ २८९, जानकी १८६ र नरैनापुर गाउँपालिकाबाट १२१ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ। 

जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार विसं २०८२ चैत २२ देखि २०८३ असोज २२ गतेसम्म अनलाइन आवेदनबाट तीन हजार ४९६ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार ४०१ गरी कूल १३ हजार ८९७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गरेका थिए। यसमध्ये छ हजार ७१३ महिला र सात हजार १८४ पुरुष छन्। रासस

प्रकाशित: १७ कार्तिक २०८३ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App