१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

'सा*स फेर्न नसकेर तड्पी-तड्पी हुने मृ*त्युभन्दा बाढीमा सिधै परेको भइदियोस् मेरो बाबु'

सुरुङमा हराइरहेका छोराको अवस्था सम्झेर बुबाको पीडा

रसुवाका नेकपा नेता माधव लामिछानेले बाढीपछि जलविद्युत आयोजनाको सुरुङमा फसेका आफ्ना जेठा छोरा समिर लामिछानेसहितका कामदारको अवस्थालाई लिएर भावुक पीडा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सुरुङमा रहेका व्यक्तिहरूको मृत्यु कति पीडादायी भयो होला भन्ने कल्पना गर्न पनि कठिन रहेको बताएका छन्। उनले चिलिमेमा अहिलेसम्म शव नबिग्रिएको अवस्थाले मृत्यु केही दिनअघि मात्र भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

'बाबु तिमीहरू चाहिँ सुरुङमा नहुनु ल। सुरुङमा हुनेहरूको मृत्यु कति पीडादायी भयो होला त्यो चिलिमेमा अहिलेसम्म लास बिग्रिएको नहुनुले (मृत्यु भर्खर एक–दुई दिन अगाडि भएको) देखिन्छ,' उनले भावुक हुँदै पीडा पोखेका छन्।

लामिछानेले सुरुङभित्र अक्सिजनको अभावमा तड्पिएर मृत्यु हुनुभन्दा बाढीमा सिधै परेको भए हुन्थ्यो भन्ने पीडादायी अभिव्यक्तिसमेत दिएका छन्। उनले आफ्ना छोरा समिर लामिछानेसहित सुरुङमा रहेका अन्य साथीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरे।

उनले सरकारको उद्धार कार्यप्रति असन्तुष्टि जनाउँदै सुरुदेखि नै सबै सुरुङमा स्वदेशी तथा विदेशी उद्धारकर्तालाई परिचालन गरेर उद्धार गरिएको भए अहिलेको पीडा भोग्नुपर्ने अवस्था नआउने बताए।

माधव लामिछानेका जेठा छोरा समिर लामिछाने रसुवागढी जलविद्युत आयोजनामा इलेक्ट्रिकल इन्जिनियरका रूपमा कार्यरत थिए। उनी करिब ६ वर्षदेखि सोही आयोजनामा काम गर्दै आएका थिए।

प्रकाशित: १ आश्विन २०८३ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App