हिउँदे सिजन सुरु भएसँगै जुम्लामा चोरी तथा आपराधिक गतिविधि बढ्दै गएका छन्। पछिल्लो एक साताभित्र सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा सुनचाँदी पसलदेखि खुद्रा पसलसम्म चोरीका घटना सार्वजनिक भएका छन्, जसले स्थानीयवासीलाई त्रसित बनाएको छ।
गत पुस ६ गते राति जिल्ला प्रहरी कार्यालय जुम्लाको आडमै रहेको रोहन सुनचाँदी पसलमा तोडफोडसहित चोरी भएको थियो। चन्दननाथ नगरपालिका–४ मा जिल्ला खेलकुद विकास समितिको टहरामा सञ्चालनमा रहेको उक्त पसलमा अज्ञात समूहले सटर र काउन्टर फोडी बहुमूल्य गहना चोरी गरेका थिए। पसलका मालिक काले सुनारका अनुसार राति करिब २ बजे पसलको अवस्था तोडफोड गरिएको देखेपछि तत्काल आफन्त र प्रहरीलाई खबर गरिएको थियो। टुकी, मुन्द्रा, चाँदीका सिक्री, लकेट, वाला र टपलगायतका गहना चोरी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।
यसअघि गत मंसिर १९ गते राति करिब १ बजे चन्दननाथ नगरपालिका–६ बोहोरा गाउँ जाने पुरानो बाटो नजिकै जयबहादुर कठायतको घरमा चार जना अज्ञात व्यक्तिले धारिलो हतियारसहित प्रवेश गर्ने प्रयास गरेका थिए। करिब आधा घण्टासम्म ढोका फोड्ने प्रयास भए पनि स्थानीयको चर्को आवाज र भीड बढेपछि उनीहरू फरार भएका थिए। कठायतले जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा दुईपटक फोन गरी सुरक्षा माग्दा पनि समयमै प्रहरी नआएको गुनासो गरेका छन्।
त्यस्तै, पुस ८ गते राति सदरमुकाम खलंगाको मुख्य बजार क्षेत्र कृष्णमन्दिर अगाडि रहेको भुवनेश्वरी रोकाया खुद्रा पसलमा पनि चोरी भएको छ। पसलका मालिक रत्नबहादुर रोकायाका अनुसार करिब ३० हजार रुपैयाँ बराबरको सामान चोरी भएको हो। उनका अनुसार पछिल्लो समय बजारभित्र दर्जनौँ खुद्रा तथा मोबाइल पसल चोरीको निशानामा परेका छन्।
यद्यपि जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा चोरीसम्बन्धी पाँच मुद्दा दर्ता भई सबै फछ्र्यौट भएका छन्। आर्थिक वर्ष २०८०/०८१ मा एक र २०८१/०८२ मा चार वटा चोरीका मुद्दा दर्ता भई सबै फछ्र्यौट भएको डिएसपी रबिनबाबु रेग्मीले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म चोरीका मुद्दा औपचारिक रूपमा दर्ता भएका छैनन्। यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा डाँका चोरीका तीन मुद्दा दर्ता भई सबै फछ्र्यौट भइसकेका छन्।
चोरीका घटना बढेपछि चन्दननाथ नगरपालिकाले बजार क्षेत्र उज्यालो बनाउने उद्देश्यसहित सडक बत्ती जडान कार्य सुरु गरेको छ। नगरप्रमुख राजुसिंह कठायतका अनुसार पहिलो चरणमा सदरमुकाम खलंगा बजार क्षेत्रमा २ सय वटा सडक बत्ती जडान गरिएको छ। नगरपालिकाभित्रका १० वडामध्ये सुरुमा बजार क्षेत्रका चोक, गल्ली र मुख्य स्थानमा प्राविधिक स्टमेटअनुसार बत्ती जडान गरिएको उनले बताए।
नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतका अनुसार ४ हजार मिटर केबुल तार विस्तार गरी ५० वाट क्षमताका सडक बत्ती जडान गरिएको हो। दुई वटा बत्ती, जडान खर्च, तारलगायत सबै मिलाएर १७ लाख ५० हजार रुपैयाँ लागत लागेको उनले जानकारी दिए। बजार क्षेत्रमा यसको प्रभावकारिता र दिगोपनको परीक्षण गरिने र सफल भएमा सबै वडामा विस्तार गरिने नगरपालिकाले जनाएको छ।
उपमेयर रामदेवी (महत) खड्काका अनुसार आगामी आर्थिक वर्षमा सडक पुगेका सबै वडाका बस्तीमा सडक बत्ती जडान गर्ने गरी बजेट तर्जुमा गरिनेछ।
हिउँद सुरु भएसँगै चोरीका घटना बढ्दै जाँदा स्थानीयले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन प्रहरी प्रशासन र स्थानीय तहसँग माग गरेका छन्।
प्रकाशित: १७ पुस २०८२ १६:१२ बिहीबार



-600x400.jpg)

