लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौंतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। प्रहरीले घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएकामा उपचारकै क्रममा शनिबार राति ९ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ।
प्रकाशित: १ चैत्र २०८२ ०८:४२ आइतबार





