मोतिलाल रोकाया पोखरी गाउँको उकालो बाटोमा बिस्तारै हिँड्छन्। दायाँ खुट्टाले पूरा साथ दिँदैन। कहिले लठ्ठी, कहिले पर्खालको सहारामा उनी आहोरदोहोर गर्छन्। यही शरीरले कुनै समय परिवर्तनका लागि भन्दै लामै समय बन्दुक बोकेको थियो । तर हिजोआज भने सुई–धागोले जीवन सिउने गर्दैछन्।
तिला गाउँपालिका–७ पोखरी जिल्लाकै विकट बस्ती हो। यहीँ जन्मिएका मोतिलालले बाल्यकालमै अभाव चिने। “हुँदामात्र खाने परिवार थियो,” उनी भन्छन्, “गाउँमा पढ्ने वातावरणै थिएन।” पढेलेखेका मानिस न्युन थिए। अलि उमेर पुग्नासाथ रोजगारीका लागि कालापहाड जाने चलनले उनको गाउँमा थोरैमात्र युवायुवती भेटिन्थे।
उनको जीवन पनि यही लयमा अघि बढ्दै थियो। २०५७-०५८ सालतिर देशभर ‘अवस्था र व्यवस्था परिवर्तन’का नारा गुञ्जिए। पोखरी गाउँ माओवादी कार्यकर्ताको जमघट थलो बन्यो। कलिलै उमेरमा उनी विद्रोहमा होमिए। पार्टीले उनलाई ‘कमरेड अर्जुन’ नाम दियो। विद्रोहका नारा मार्मिक लाग्थे, सपना ठूला थिए।
युद्धका क्रममा उनी माओवादीको छैटौँ डिभिजनअन्तर्गत सेक्सन कमान्डरसम्म पुगे। विद्रोहले परिवार बिर्सायो। बन्दुक समातेको हातले भविष्य कोर्न सकेन।
कैलालीको पाण्डौन भिडन्तमा अर्जुनको दायाँ खुट्टामा गोली लाग्यो। दायाँ हात र कम्मरमा लागेका बमका छर्रा आज पनि शरीरभित्रै छन्। उपचारकै क्रममा पार्टीको साथ छुट्यो। “घाइते भएपछि कसैले फर्केर आएन,” अर्जुन सम्झन्छन्, “रित्तो हात गाउँ फर्किनु पर्यो।”
शान्ति प्रक्रिया सुरु भयो। माओवादी सत्ता राजनीतिमा पुग्यो। तर अर्जुनजस्ता घाइतेहरू सूचीमै सीमित भए। सेना समायोजनमा परेनन्। सँगै लडेका धेरै साथी आज नेता र व्यवसायी बने। उनी भने बैसाखीको सहारामा दिन काटिरहेका छन्। “कहिलेकाहीँ त लडाइँमै मरेको भए सुख हुन्थ्यो, जस्तो लाग्छ,” उनी भन्छन्।
मन भारी बनाउँदै अर्जुन जुम्लाको सदरमुकाम खलंगादेखि कैलालीको पाण्डौन, म्याग्दीको बेनी र बाँकेको कुसुमसम्मका भिडन्त सम्झिन्छन्। “देश बनाउने सपना थियो, तर आफ्नै भविष्य भत्किएछ,” उनी निराश सुनिन्छन्।
अहिले ४३ वर्ष पुगेका अर्जुनको काँधमा ठूलो जिम्मेवारी छ। ६ छोरी छन्। सबै विद्यालय जान्छन्। खेतीपातीले ६ महिना पनि खान पुग्दैन। घाइते शरीरले खेतबारी धान्दैन। दायाँ खुट्टाको घाउ अझै पूर्ण निको भएको छैन। भारी बोक्न सक्दैनन्। “औषधि किन्न पनि ऋण गर्नुपर्छ,” अर्जुन भन्छन्, “जीउ दुखेर न राम्ररी सुत्न मिल्छ, न सहजै हिँड्न।”
१४ वर्षअघि अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रको कार्यक्रममा सहभागी भएपछि उनको जीवनमा सानो मोड आयो। केन्द्रले दाताको सहयोगमा ८० प्रतिशत अनुदानमा सिलाइकटाइ मेसिन उपलब्ध गरायो। आज अर्जुन बिहानैदेखि मेसिनमा बस्छन्। आफ्नो जीवन फाटेपनि अरुका जीवन ढाक्ने कपडा सिलाउछन्। गाउँलेका पाइन्ट, सर्ट, दौरा–सुरुवाल सिलाउन उनी खप्पिस छन्। कहिल्यै केही गर्न सक्दैन भन्नेहरू अहिले छक्क पर्छन्।
कपडा सिलाएर उनले वर्षमा करिब ६० देखि ८० हजार रुपैयाँ आम्दानी गर्छन्। त्यो रकम छोरीका कापी–कलम, लत्ताकपडा र खानामा खर्च हुन्छ। कहिलेकाहीँ बचे धागो र सियो किन्छन्।
अपांग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपाने भन्छन्, “मोतिलालजस्ता व्यक्ति समाजका लागि प्रेरणा हुन्। अपांगता कमजोरी होइन, क्षमताको अर्को रूप हो।
साबिक शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गतको तथ्यांकअनुसार सशस्त्र द्वन्द्वका क्रममा जुम्लामा ३ सय ३८ जनाको ज्यान गएको थियो। ७ जना बेपत्ता छन्। १ सय ४२ जना अपाङ्ग जीवन बिताइरहेका छन्। अर्जुन तीमध्ये एक हुन्।
अर्जुनको कथा बन्दुक थन्क्याएर सुई समातेका हजारौँ द्वन्द्वपीडितको साझा कथा हो। युद्ध त सकियो, तर उनको जीवन अझै अशान्त छ।
प्रकाशित: १ पुस २०८२ १७:३२ मंगलबार





