रसुवाको चिलिमे सुरुङमा उद्धारका लागि भइरहेको कामअन्तर्गत १०५ मिटरभन्दा बढी दूरीमा र्याट होल खनिएको रास्वपाका सांसद श्रीराम न्यौपानेले जानकारी दिएका छन्।
न्यौपानेका अनुसार सुरुङमा कामका चरण फरक भएकाले प्रगतिको दूरी पनि फरक देखिएको हो। नेपाली सेनाले सुरुङको ‘क्राउन’ भागमा म्यानुअल रूपमा र्याट होल खन्ने काम १०५ मिटरभन्दा बढी पूरा गरेको छ।
यस्तै, एक्स्काभेटरमार्फत ‘क्राउन’सम्म भरिएको सुरुङमा ८० मिटरभन्दा बढी दूरीमा उत्खनन भएको छ। ह्विल लोडरबाट भने सुरुङको ‘बटम’सम्म लेदो हटाएर ७० मिटरभन्दा बढी भाग सफा गरिएको न्यौपानेले बताएका छन्।
उनले यी सबै तथ्यांक हिजो साँझसम्मको रहेको र काम निरन्तर भइरहेकाले हाल थप प्रगति भइसकेको पनि बताएका छन्।
सुरुङमा विभिन्न चरण र उपकरणमार्फत उद्धारको काम अघि बढाइएको छ। फरक-फरक विधिबाट भएको प्रगतिलाई एउटै दूरीका रूपमा बुझ्न नहुने सांसद न्यौपानेको भनाइ छ।
प्रकाशित: २९ भाद्र २०८३ ०९:२० सोमबार





