२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

फाइल तस्बिर

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ।

देशको अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाको अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भागको धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशको तराईको केही स्थान, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाको कारण देशको पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ।

प्रकाशित: २८ श्रावण २०८२ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App