कैलारी गाउँपालिका वडा नं ६ बनखट्टाका शोभापती चौधरी दम्पती व्यवसायीक रूपमा कृषि गर्छन्। राम्रो उब्जनी गर्न सफल भए पनि बाँदरको कहर उनका लागी ठुलो समस्या बनेको छ।
बाह्रौँ महिना ठुलो संख्यामा आउने बाँदरहरूले कुनै बाली बाँकी नराख्ने उनी बताउँछन्। ‘जमिनमुनिको त बाँच्ला कि भनेर सखर खण्ड र मुमफली खेती गरे,’चौधरीले भने,–‘बाँदरले जमिन मुनी खनेर सखरखण्ड र मुममली समेत खाइदियो’।
उनले आफ्नो जमिनका अलावा भाडामा समेत जमिन लिएर कृषि गर्ने गरेका छन्। बाँदर बाट बचाउन उनले बदलेर विभिन्न बाली, फलफूल र तरकारीको खेती गरे। तर बाँदरले कुनै बाली पनि बाँकी नराख्ने गरेको उनको तीतो अनुभव छ।
‘बाँदरले नखाने भनेको केही नहुँदो रहेछ, लगाएको सबै बाली नोक्सान गर्छ’उनले भने,‘बाह्रौँ महिना बाँदरले साह्रै दुःख दियो। धान,गहुँ,मकै,तोरी, तरकारी सबै बाली बाँदरले खाइदियो।’
बाँदरले केरा खाँदैन भनेर १० बिगाहा जमिनमा केरा खेती गरेकोमा काँचै घरी पुरै बाँदरले खाइदिने गरेको उनी बताउँछन्।
यसैगरी कैलालीको पहाडी भुभाग रहेको चुरे गाउँपालिका वडा नं ४ गार्भाका नारायण योगी पनि बाँदरले खेतीपाती गर्न नै समस्या भएको बताउँछन्।
‘१५, १६ रोपनी जमिनमा फलफूल र खेतीपाती गरिरहेको थिए, बाँदर, दुम्सीले धेरै दुःख दियो,’उनले भने।
स्याउ, सुन्तला र आँप सबै बाँदरले खाने गरेको उनले बताए। ‘अलैँची खेती गरेको थिए’, उनले भने, ‘अलैँची दुम्सीले खाइदियो’। धान, मकै, गहुँ बाँदरले खाने गरेको उनले बताए।
शोभापती र नारायणको मात्र नभएर कैलालीमा समतल भूभागमा खेती गर्ने देखि चुरे पहाडमा खेती गर्ने सबै किसानहरू एउटै साझा समस्या बनेको छ बाँदर लगायतका वन्यजन्तुहरुको कहर।
सबै भन्दा ठुलो नोक्सान बाह्रै महिना ठुलो संख्यामा आउने बाँदरले गर्ने गरेका छन् भने राती आउने बँदेल र दुम्सीले पनि किसानको बालीनाली नोक्सान गर्ने गरेको छ।
बाँदरले गहुँ र मकै जमिनमा बिउ छरेको पनि टिपेर खाइदिने गर्छ। गहुँको बाला लागेपछि बाँदरले खाइदिन्छ। धानको पनि बाला निस्कने बेला बाँदरले नोक्सान गर्ने किसान बताउँछन्। बाँदरले मकैको घोगा बाँकी नै राख्दैनन्।
‘अहिले त बारीमा मात्र नभई घरमा भित्र्याएर सुली बनाएर राखेको मकै समेत बाँदरले लगेर जाने गरेको छ’, स्थानीय किसान लक्ष्मी बोहराले भनिन्,‘खेतीपाती बाँदरबाट जोगाउन नै मुस्किल छ। पाकेको तोरी समेत बाँदरले नोक्सान गर्ने गरेको छ’।
बाँदर, बँदेल र दुम्सीबाट अन्नबाली जोगाउन खेतबारीमै बस्नुपर्ने किसान बताउँछन्। बाँदर बाट जोगाउन हेरालु राख्ने गरेका छन्। ‘बाँदरबाट खेती जोगाउन नसकेमा पुरै सखाप पार्छ’, किसान शेरबहादुर चौधरीले भने।
बाँदर लगायतका वन्यजन्तुको कहरबाट जोगाउन सरकारले प्रभावकारी दीर्घकालीन योजना बनाएर लागु गर्नुपर्ने किसानहरू बताउँछन्।
कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्ट कैलालीमा बाँदरले सबैभन्दा बढी किसानलाई समस्या पारेको बताउँछन्। बँदेल, दुम्सीले पनि समस्या गरेको उनको भनाई छ।
कैलालीमा मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकामा पहाडी भूभाग रहेको छ भने अन्य ११ पालिका तराईमा पर्छ।
‘माथि चुरे पहाड देखि तराईको भूभाग सवैतिर किसानका खेतीपातीलाई बाँदरहरूले सबैभन्दा बढी नोक्सान पुर्याउने गरेको छ’,उनले भने।
कैलालीमा ८६ हजार ४ सय ५० हेक्टर जमिनमा खेती गरिने गरेको उनले बताए। ७० हजार ५ सय हेक्टरमा धान खेती, ६ हजार १ सय हेक्टरमा मकै खेती, ३४ सय हेक्टरमा गहुँ खेती र ५ हजार २ सय हेक्टरमा आलु खेती लगाइने गरेको उनले बताए।
जिल्लाभरिमा किसानले गरेको खेती मध्यमा करिब ३० प्रतिशत खेतीमा बाँदर, बँदेल र दुम्सीले नोक्सान पुर्याउने गरेको उनको भनाई छ।
प्रकाशित: ९ भाद्र २०८३ १७:५० मंगलबार





