खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महोत्तरीका १७ वटा होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा आकस्मिक निरीक्षण तथा अनुगमन गरेको छ।
विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी जनकपुरस्थित कार्यालय र डिभिजन कार्यालय जलेश्वरको संयुक्त टोलीमार्फत जलेश्वर, रामगोपालपुर र बर्दिबास नगरपालिका क्षेत्रमा अनुगमन गरेको हो।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरूले खाद्य वस्तु खुला रूपमा बिक्री वितरण गरेको र लेबलिङ नगरेको पाइएको छ।
अनुगमन टोलीले बर्दिबास-१ स्थित ‘श्री राम स्वीट एण्ड चाट हाउस’ मा खाद्य पदार्थ तार्न प्रयोग गरिएको तेलको गुणस्तर मापन (टीपिएम) ३७.५ पुगेको भेटेपछि कैफियत देखिएको २ लिटर तेल तत्काल नष्ट गरेको छ।
त्यस्तै, औरही-१ स्थित कृष्ण स्वीट्स एण्ड चाट हाउसको भान्सा कोठाबाट प्रतिबन्धित औद्योगिक कच्चा पदार्थ (हाइड्रो) बरामद गरी जफत गरिएको छ। उक्त पसललाई पटक-पटक तताएर तेल प्रयोग नगर्न र पूर्ण लेबल विवरणसहित मात्रै बिक्री गर्न निर्देशन दिइएको छ।
जलेश्वर-२ स्थित श्री शिव मिष्ठान्न भण्डारले मसीयुक्त पत्रिकामा राखेर बिक्री गरिरहेको करिब १ केजी समोसासमेत अनुगमन टोलीले जफत गरेको छ।
अनुगमन गरिएका पसलहरूमध्ये अधिकांशमा पेडा, बर्फी तथा खुवाको स्टार्च टेस्ट र दूधको न्युट्रलाइजर टेस्ट गर्दा नतिजा सन्तोषजनक देखिएको छ।
बर्दिबास चोकस्थित एभरेस्ट डेरी एण्ड स्वीट्स हाउसले भने उचित तापक्रममा सोकेसमा राखी लेबलसहित मिठाई बिक्री गरेको र सरसफाइ पनि राम्रो पाइएको विभागले जनाएको छ।
टोलीले जलेश्वरका श्याम मिष्ठान्न भण्डार, श्री मिष्ठान्न भण्डार, श्री राजकुमार मिठाई पसल, भोलेबाबा गाईपालन तथा डेरी उद्योग, रघुपति मिष्ठान्न भण्डार तथा रामगोपालपुरका राहुल मिष्ठान्न भण्डार र नविन मिष्ठान्न कर्नरमा पनि अनुगमन गरेको छ।
त्यसैगरी बर्दिबासका होटल हेको, लक्ष्मी स्वीट्स, सुमित गुप्ता मिठाई पसल, न्यु फिफा डेरी एण्ड स्वीट कर्नर, हेलो बर्दिबास किचेन सर्भिस र औतार वैष्णव होटलमा अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ।
विभागले खुला रूपमा राखिएका खाद्य वस्तुलाई अनिवार्य रूपमा सोकेसमा वा छोपेर राख्न, पूर्ण लेबल विवरण खुलाएर मात्र बिक्री गर्न र खाद्य स्वच्छताका मापदण्ड पूर्ण पालना गर्न सबै व्यवसायीलाई निर्देशन दिएको छ।
प्रकाशित: २१ कार्तिक २०८३ १७:०१ शनिबार





