त्रियुगा नगरपालिका–३ मोतिगडास्थित एक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालिका मृत फेला परेकी छिन्।
शनिबार दिउँसो साथीहरूसँगै पौडी खेल्न गएकी चौदण्डीगढी नगरपालिका ९ हडियाकी १२ वर्षीय गृष्मा कार्की आइतबार बिहान पोखरीमै मृत फेला परेकी हुन्।
हडिया घर भई मामाघर आएकी गृष्मा मोतिगडा क्याम्पसडाँडा चाँपस्थित जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहको पोखरीमा साथीहरूसँगै पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएकी थिइन्। दिउँसो २ बजे जस्तो घट्नाबारे प्रहरीलाई ३ बजे मात्र थाहा भएर उद्धार टोली खटाइएको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी र सशस्त्र प्रहरीको तालिमप्राप्त उद्धार टोली खटेर डुङ्गा र पौडी खेलेर खोज्दा पनि साँझसम्म भेटिएको थिएन। झमक्कै रात परेसम्म खोज्दा नभेटेपछि प्रहरीको सुरक्षामा छाडेर उद्धार टोली फर्केको थियो।
आइतबार बिहानैदेखि पुनः खोज्ने क्रममा ८ः३० बजे शव तैरिएको अवस्थामा पोखरीमै फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार २ साथीहरूसँग पौडी खेल्न गएकी गृष्मा खेल्दाखेल्दै डुबेर बेपत्ता भएकी थिइन्। खोजी गर्दा नभेटेपछि घर फर्केर आफ्ना अभिभावकलाई घट्नाबारे जानकारी गराएपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनास्थलको सर्जमिन मुचुल्का गरी बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। घट्नाबारे थप अनुसन्धान सुरु डिएसपी बमले बताए।
३ दिनअघि मात्र जिल्लाको कटारी नगरपालिका ३ स्थित हडैयास्थित खहरेमा जमेको दहमा डुबेर एकाघरका ३ बालकको ज्यान गएको थियो। बिहीबार दिउँसो हडैयाका २ दाजुभाइका ४ नाबालक छोराहरू पौडी खेल्ने क्रममा दहमा डुबेर जितु कुमर दनुवारका ११ वर्षीय सुमित कुमार र ७ वर्षीय सुगम कुमर दनुवार, उनकै भाइ अनिलका ८ वर्षीय छोरा आदित्य कुमर दनुवार ज्यान गएको थियो।
दाजुहरूसँगै गएका अनिलका ५ वर्षीय अर्का छोरा भने पौडी खेल्न नसकेर बाहिरै बसेकाले सकुशल रहेको प्रहरीले जनाएको छ। बाँध बाँधेको खहरेमा जमेको दहमा पौडी खेल्ने क्रममा डुबेर घटना भएको प्रहरीकाे भनाइ छ।
प्रकाशित: १७ श्रावण २०८३ १२:१० आइतबार





