जेन-जी आन्दोलनको क्रममा आगलागी र तोडफोडबाट बचेखुचेका सवारी साधानबाट विभिन्न मन्त्रालयले काम चलाइरहेका छन् । अन्तरिम सरकार बनेपछि प्रधानमन्त्री तथा मन्त्रीहरुले कहाँ राखेका गाडी चढेका छन् भन्ने कौतुहलता उत्पन्न भैरहेका बेला गृहमन्त्रालयले यसको व्यवस्थापन गरिरहेको पाइएको छ ।
‘प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मलाई गृहमन्त्रालयले गाडी व्यवस्थापन गरिरहेको छ’, मन्त्रालयल स्रोतले भन्यो । जलेका गाडी भने बिहीबारदेखि नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा लगेर थन्क्याउन सुरु गरेका छन् ।
भदौ २४ को आन्दोलन पछि गृहमन्त्रालय अन्तर्गत आन्तरिक प्रशासन महाशाखा मातहतको सवारी तथा सभारोह व्यवस्थापन शाखाले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापन गरिरहेको मन्त्रालयका सहप्रवक्ता तथा सूचना अधिकारी रविन्द्र आचार्यले बताए ।
उनका अनुसार यो शाखाले आगलागीबाट बचेखुचको गाडीबाट विशिष्ट व्यक्तिलाई सवारी व्यवस्थापन गरिरहेको छ ।
मन्त्रालय स्रोतका अनुसार अधिकांश मन्त्रालयले मन्त्रालयका सचिवलाई आगलागीबाट बचेको गाडी उपलब्ध गराएका छन । तर सहसचिव र सहसचिवभन्दा तल्लो तहका कर्मचारीले आफ्नो व्यवस्थापन आफैँ गरिरहेका छन् ।
केही कर्मचारीले नीजि गाडी, केहीले मोटरसाइकल स्कूटर, केहीले पठाउबाट काम चलाइरहेका छन् । केही कर्मचारी भने हिँडेरै कार्यालय-निवास आवाजावत गरिरहेका छन । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा प्रवक्ता भिमार्जुन अधिकारीले मन्त्रालयका सचिव बाहेक अन्य कर्मचारीहरूले सवारी साधानको हकमा आफ्नो व्यवस्थापन आफैँ गरिरहेको बताए ।
‘मैले सार्वजनिक सवारीबाट मन्त्रालयबाट निवास आउने जाने गरिरहेको छु । अन्य साथीहरुले आफ्नो व्यवस्था आफैँ गरिरहनु भएको छ । केहीले पठाउबाट काम चलाउनु भएको छ । केहीले आफ्नै निजी सवारी साधन प्रयोग गरिरहनु भएको छ ।’
उनका अनुसार मन्त्रालयका सचिवहरूले भने आगलागीबाट बँचेको गाडी प्रयोग गरिरहेका छन् ।
यसैगरी शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार भदौ २४ गतेको आन्दोलनमा मन्त्रालयमा रहेका गाडीमध्ये एउटा मात्र गाडी आगलागीबाट बचेको छ । उनले भने ‘अहिले त्यही गाडी मन्त्रालयका सचिवज्यूले प्रयोग गरिरहनु भएको छ । अन्य कर्मचारीहरूले आफ्नो व्यवस्थापन आफैँ गरिरहनु भएको छ ।’
मैनालीका अनुसार विभिन्न मन्त्रालयहरूले आगलागीबाट जलेका गाडी नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा लगेर थन्काउन सुरु गरेको छ । ‘जलेका गाडीहरुको व्यवस्थपान मन्त्रालयहरूले आफैँ गरिरहेका छन । धेरैजसो मन्त्रालयहरुले जलेका गाडीको मुचुल्का उठाइ नयाँ बानेश्वरस्थित संसद भवन पसिरमा थन्काउने गरेका छन’ उनले भने । बीमा गरिएका गाडीको हकमा बीमाका लागि प्रक्रिया पूरा गरी संसद भवन परिसरमा थन्काउने गरिएको छ ।
सिंहदरबार परिसर भित्र रहेका र परिसर बाहिर रहेका सबै सरकारी कार्यालयहरूले आफ्नो जलेको गाडी र क्षति भएको सम्पत्ति बारेमा विवरण संकलन गर्न सुरु गरेका छन । धेरैजसो कार्यालयहरूले विवरण संकलन गर्न समिति नै बनाएका छन् । सिंहदरबार परिसर भित्र अहिले जलेका गाडीले भरिएका छन् । जताततै जलेका गाडी मात्र भेटिन्छन । नजलेका तथा तोडफोड नभएका गाडी निकै कम देखिने गरेका छन । सिंहदरबार परिसर भित्र प्राय: सबै मन्त्रालयमा गाडी तोडफोड तथा आगलागीबाट फुटेका शिशाका टुक्रा यत्रतत्र भेटिन्छ । विभिन्न मन्त्रालयका प्राविधिक कर्मचारीहरूले बिहीबार जलेर अथवा तोडफोडबाट आशिंक क्षति भएका गाडीहरूको विषयमा प्राविधिक परीक्षण सुरु गरेका छन ।
कति गाडी जले ?
जेन जी आन्दोलनको क्रममा विभिन्न मन्त्रालयहरुमा १ हजारभन्दा बढी गाडी जलेको तथा तोडफोड भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रारम्भिक अनुमान अनुसार करिब ४ सय गाडी र करिब ६ सय मोटर साइकल जलेका छन । शहरी विकास मन्त्रालयका प्रवक्ता मैनालीका अनुसार मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा ५२ वटा साना गाडी र करिब ७० वटा मोटर साइकल जलेका छन । यसैगरी भौतिक मन्त्रालयमा ९ वटा गाडी जलेका छन भने १३ वटा गाडीमा तोडफोड गरिएका छन् । यसैगरी मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा करिब ४८ वटा साना गाडी र करिब ७० वटा मोटरसाइकल जलेका छन ।
गृहमा करिब २५ वटा साना गाडी र करिब ३० वटा मोटर साइकल जलेका छन । सडक विभागले जलेका गाडीको विषयमा विवरण संकलन गर्न उपमहानिर्देशक श्याम खड्काको संयोजकत्वमा एउटा समिति नै बनाएको छ ।
जेन जी आन्दोलनभन्दा अघि सिंहदरबार परिसरभित्र स्वास्थ्य बाहेक सबै मन्त्रालयका कार्यालय थिए । यसैगरी विभिन्न आयोग र सकारी संचार माध्यमको कार्यालय पनि सिंहदरबार परिसर भित्र छन । जेन जी आन्दोलनले अधिकांश कार्यालयहरूमा क्षति पुर्याएको छ।
प्रकाशित: २ आश्विन २०८२ २०:४७ बिहीबार





