जंगी अड्डाले नेपाली सेना तथा नेतृत्वबारे तथ्यहीन अभिव्यक्ति नदिन चेतावनी दिएको छ।
सेनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसार भएका तथ्यहिन सूचना एवं अभिव्यक्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सेनाले कपोकल्पित समाचारहरूले आम नागरिकमा भय उत्पन्न गर्ने हुँदा त्यस्ता भ्रामक समाचार प्रसार नगर्न/नगराउन अनुरोध गरेको छ।
यस्तै, नेपाली सेनाले उत्ऋङ्खल तथा अवैध गतिविधिहरूमा नियमित निगरानी गरिरहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने बेहोरा समेत स्मरण गराइन्छ।’
यस्तै, सेनाले आम जनमानसमा यस किसिमका आधारहीन र द्वेषपूर्ण समाचार तथा टीका–टिप्पणीहरूलाई विश्वास नगर्न अनुरोध गरेको छ। आधिकारिक सूचनाको लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र वेबसाइटमा सम्प्रेषण गरिएका सूचनाका साथै जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न अनुरोध गरेको छ।
प्रकाशित: ११ वैशाख २०८३ १७:२३ शुक्रबार





