लघुवित्त तथा वित्तीय शोषणपीडित किसान मजदुरहरूले आफ्ना विभिन्न माग राख्दै आइतबार काठमाडौं आएका छन्।
आन्दोलनमा सहभागीहरू एक सातादेखि मुग्लिन हुँदै पैदल यात्रा गरेर काठमाडौं आइपुगेका हुन्। लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा न्यायको माग गर्दै तराईका सात जिल्लाबाट राजधानी आएका छन् ।
प्रदर्शनकारीहरूले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न, किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन, किसानमाथिको दलालीकरण अन्त्य गर्न, अपराधसम्बन्धी ऐन खारेज गर्न तथा लिलामी वा मिनाहा प्रक्रियामा गुमाएका जग्गा फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
उनीहरूले लघुवित्त संस्थाको चर्को ब्याज र ऋण असुली प्रक्रियाका कारण हजारौं किसान आर्थिक संकटमा परेको भन्दै सरकारले पीडितका माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘किसानलाई सस्तो ब्याज देऊ’, ‘जग्गा फिर्ता गर’, ‘वित्तीय शोषण बन्द गर’ लगायतका नारा बोकेर काठमाडौं आएका छन्।
प्रकाशित: १० श्रावण २०८३ १५:०० आइतबार





