२४ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा माइक्रो बस सडकबाट १५ मिटर तल खस्यो, चालकसहित १० घाइते

उदयपुरको त्रियुगा नगरपालिका-१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा आज दिउँसो माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।

बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो बस दिउँसो १२:४० बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो। चालकसहित ११ जना सवार रहेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ। गाडीमा सवार १० वर्षीया एक बालिका भने सकुशल छिन्।

प्रहरीका अनुसार घाइते हुनेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चालक कृष्ण के.सी., झापाको सुरुङ्गा नगरपालिका-३ की ४० वर्षीया रेणुका प्रसाई र उनका १४ वर्षीय छोरा नैन प्रसाई रहेका छन्। रेणुकाकी १० वर्षीया छोरी निरुसा प्रसाई भने दुर्घटनामा सकुशल रहेकी छन्।

त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका-३ की ५० वर्षीया निल कुमारी लम्साल, सुन्दरहरैंचा नगरपालिका-४ का ७० वर्षीय अमृत बहादुर खड्का, सुनसरीको इटहरी उपमहानगरपालिका-१२ की ४३ वर्षीया मुना ढकाल र इटहरी-८ की ३७ वर्षीया रन्जिता गौतम घाइते भएका छन्।

यसैगरी, उदयपुरको बेलका नगरपालिका-१ का ३८ वर्षीय प्रबिन तामाङ, चौदण्डीगढी नगरपालिका-१० की २५ वर्षीया जमुना परियार बि.क. र उनका ९ वर्षीय छोरा अंकित बि.क. घाइते भएका छन्।

दुर्घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २४ कार्तिक २०८३ १६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App