२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

रोल्पा–रुकुममा यौनहिंसा पीडितको स्मृतिमा स्मारक

रोल्पामा स्मारक अनावरण कार्यक्रम । तस्बिर : दिनेश सुवेदी/नागरिक

नेपालमा २०५२ देखि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा यौनहिंसापीडित भएका व्यक्तिहरूको स्मृतिमा रोल्पामा स्मारक निर्माण गरिएको छ। द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा रोल्पा सदरमुकाम लिवाङ नजिकै रहेको पर्यटकीय स्थल सातदोबाटो भ्यूटावर छेउमा उक्त स्मारक अनावरण गरिएको हो।

गत महिना नवलपरासीको पद्मालयमा भएको १० वर्षे माओवादी द्वन्द्वमा यौन हिंसामा परेका महिलाहरूको आम भेलाले जारी गरेको घोषणापत्रसहितको शिलालेख स्मारक निर्माण गरिएको थियो। ग्लोबल सर्वाइभर फन्डको सहयोगमा नागरिक आवाज, नेपाल महिला सामुदायिक सेवा केन्द्र र रोल्पा नगरपालिकाको सहकार्यमा स्मारक निर्माण गरिएको हो।

रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्ती, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, उपमेयर गीता आचार्यलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा रोल्पाका दुई जना यौनहिंसाका सर्वाइभरले उक्त स्तम्भको अनावरण गरेका थिए।

आफूहरूले जारी गरेको घोषणापत्र र आफ्ना माग समेटिएको शिलालेख अनावरण गर्न आएकी ‘कमरेड १२’ ले राज्यले आफूहरूलाई उपेक्षा गरेको बताइन्। नागरिकसँग कुरा गर्दै उनले भनिन्, “राज्य हाम्रो लागि हो भन्ने बुझ्नै सकिँदैन। कुनै पनि सरकार वा आयोगले हाम्रो मन र तनका घाउ सम्झन चाहेनन्।”

अहिले रोल्पामा नेपाल महिला सामुदायिक सेवा केन्द्रले १०२ जना सर्वाइभरसँग मानसिक स्वास्थ्य र दीगो जीविकोपार्जनमा काम गरिरहेको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोगका अनुसार हाल देशभरबाट करिब ४ हजार बढी यौनहिंसा पीडित सर्वाइभरले न्यायका लागि उजुरी दिएका छन्।

यसैगरी रुकुमपूर्वमा पनि द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्मारक अनावरण तथा शहीदलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। सदरमुकामस्थित सिस्ने गाउँपालिका–५ ठाडीडाँडामा तयार गरिएको स्मारक जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले अनावरण गरेका थिए।

सो अवसरमा ६६ जना शहीद परिवारलाई सम्मान समेत गरिएको थियो। सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख प्रतिनिधि तथा शहीद परिवारको उपस्थिति रहेको थियो।

यहाँ पनि ग्लोबल सर्वाइभर फन्डको सहयोगमा नागरिक आवाज, नेपाल महिला सामुदायिक सेवा केन्द्र र सिस्ने गाउँपालिकाको सहकार्यमा स्मारक निर्माण गरिएको हो। रुकुमपूर्वमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले ११२ जना सर्वाइभरसँग मानसिक स्वास्थ्य र दीगो जीविकोपार्जनका क्षेत्रमा काम गरिरहेको छ।
 

प्रकाशित: ५ असार २०८३ १८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App