२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

एनआरएनए प्रतिनिधि र परराष्ट्रमन्त्रीबीच भेट : नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड

परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड दिएका छन्। 

आज (शुक्रबार) सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीसँको भेटमा उनले आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्यमा जोड दिएका हुन्।  

उनले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आभार व्यक्त गरे। उनले भने, 'यस पटक देशमा भएको परिवर्तनमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान छ भन्ने कुरा स्पष्ट रूपमा नेतृत्व तहमा स्थापित छ।'

मन्त्री खनालले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको औंल्याउँदै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव अघि सारे। 

उनले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डालाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै तिनलाई कार्यान्वयनमा लैजानुपर्ने बताए। नागरिकतासम्बन्धी विषयमा सकारात्मक रहे पनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यकता रहेको संकेत गरे।

पोर्चुगलमा रहेका नेपालीहरूको समस्याबारे मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिँदै प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको स्पष्ट पारे। विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार पनि उनले गरे।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री खनाललाई बधाई दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरेको थियो। 

अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिए। उनले भने, 'विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पुर्‍याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ।'

उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन गर्न, अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारीसाधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गरे।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचारविरोधी अभियान र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ र सहकार्य गर्न सक्ने बताए। उनले भने, 'सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान, सीप र प्रविधि आवश्यक पर्छ, जसका लागि विदेशमा रहेका नेपाली समुदायको अनुभव र योगदान महत्वपूर्ण छ।'

उनले ९० देशमा रहेका नेपालीहरूको साझा आवाज र एकतालाई नेपालको विकास अभियानसँग जोड्नुपर्नेमा जोड दिए।

भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए। दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको छ।

सोही अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले आगामी जुन २२-२३, २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुने १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्रमन्त्री खनाललाई प्रमुख अतिथिका रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरेको छ।

एनआरएनएले मन्त्री खनाललाई बुझाएको पत्रमा गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन, सम्बन्धित ऐन संशोधन, वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधनलगायतका माग राख्दै दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ।

प्रकाशित: २० चैत्र २०८२ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App