उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा परेको सुरेशकुमार कानोडियासहितको रिट न्यायाधीश मदन पोखरेलको इजलासमा परेपछि ‘स्किप’ भएको छ। यसअघि सोही मुद्दासम्बन्धी विषय हेरेका न्यायाधीश पोखरेलकै इजलासमा पुनः रिट परेपछि उक्त मुद्दा हेर्न नमिल्ने भन्दै स्किप गरिएको हो।
अदालतले अब उक्त मुद्दाको पेसी भदौ ५ गतेका लागि तोकेको छ। न्यायाधीश पोखरेलले यसअघि यही विषयसँग सम्बन्धित मुद्दा हेरेका कारण पुनः उनकै इजलासमा पेशी परेपछि मुद्दा स्केप गरिएको उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए।
अदालतको अभिलेखअनुसार डा. सुरेशकुमार कानोडिया, रश्मी कानोडिया, दुर्गिकल कानोडिया र नितेशकुमार कानोडियाले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, जिल्ला सरकारी वकिल कार्यालय बाँकेका प्रमुखलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
प्रहरीले पक्राउ गर्न थालेपछि आफूलाई पक्राउ नगर्न आदेश माग गर्दै कानोडिया पक्षले साउन ११ गते उच्च अदालतमा रिट दर्ता गराएका थिए। अदालतको अभिलेखमा उक्त रिटको प्रकृति उत्प्रेषण रहेको उल्लेख छ।
कानोडिया पक्षले आफूहरूलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको भन्दै त्यसलाई रोक्न अदालतबाट आदेश माग गरेको हो। रिटमा जिल्ला प्रहरी कार्यालय बाँकेसहित प्रहरी तथा सरकारी वकिल कार्यालयका अधिकारीहरूलाई विपक्षी बनाइएको छ।
मुद्दा ‘स्किप’ हुनु रिट खारेज हुनु वा माग अस्वीकार हुनु भने होइन। यसअघि मुद्दा हेरेका न्यायाधीशकै इजलासमा पुनः परेका कारण उक्त इजलासबाट मुद्दा हटाइएको हो। अब भदौ ५ गते अर्को इजलासमा कानोडिया पक्षको रिटमाथि सुनुवाइ हुने भएको छ।
प्रकाशित: २९ श्रावण २०८३ ०७:५३ शुक्रबार





