२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

बाढीबाट बस्ती जोगाउन ‘नदी चिर्दै’ मौलापुर

लालबकैया नदीमा आएको बाढीका कारण मौलापुर नगरपालिका-१ मर्यादपुरस्थित पश्चिमी तटबन्ध कटानको उच्च जोखिममा परेपछि नदीको बहाव अस्थायी रूपमा फर्काउन मौलापुर नगरपालिकाले पुनः च्यानलाइजिङ (नदी चिर्ने) को काम सुरु गरेको छ।

बाढीको बहाव तीव्र बन्दै गएपछि पश्चिमतर्फको तटबन्ध कटान भई बस्तीमा बाढी पस्ने तथा ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन डुबानमा पर्ने जोखिम बढेकाले सो कदम चालिएको हो।

सङ्कट न्यूनीकरणका लागि नदीको बीच भागबाट बहावलाई सुरक्षित दिशातर्फ फर्काउने गरी नगरपालिकाले आजदेखि च्यानलाइजिङ कार्य पुनः सञ्चालन गरेको हो।

जिल्ला विपद् व्यवस्थापन समिति र मौलापुर नगरपालिकाको संयुक्त टोलीले गरेको स्थलगत निरीक्षणपछि नदीको बहाव व्यवस्थापन गरी जोखिममा रहेको पश्चिमी तटबन्धलाई तत्काल जोगाउने निर्णय भए अनुसार काम अघि बढाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बाबू साहले जानकारी दिए।

नदीको बहावलाई जोखिमयुक्त तटबन्धबाट केही पर सार्दै अस्थायी धार निर्माण गर्ने उद्देश्यले अहिले नदीको बीच भागबाट च्यानल खोल्ने काम भइरहेको छ।

नदीको धार परिवर्तन गरिएपछि तटबन्धमाथि परेको पानीको प्रत्यक्ष दबाब कम हुने र सम्भावित कटानका साथै बस्ती डुबानको जोखिम न्यूनीकरण हुने अपेक्षा छ।

यसैबीच, पश्चिमी तटबन्धको दीर्घकालीन सबलीकरणका लागि सङ्घ तथा प्रदेश सरकार मातहतका सम्बन्धित निकायहरूलाई आवश्यक जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ।

लालबकैया नदीको कटानका कारण मर्यादपुर क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिन निरन्तर उच्च जोखिममा रहेकाले तत्कालीन जोखिम न्यूनीकरणसँगै तटबन्धको दीर्घकालीन संरक्षणमा समेत आवश्यक समन्वय देखिएको छ।

नदीमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयवासीलाई सतर्क रहन तथा नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न मौलापुर नगरपालिका र स्थानीय प्रशासनले आग्रह गरेका छन्।

प्रकाशित: २७ श्रावण २०८३ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App