कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित पान पसल टकं मुनी चेतावनी सहितको कुकर बम जस्तो देखिने बम राखेका मुख्य योजनाकार ३ महिना पछि पक्राउ परेका छन् ।
प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर ११ रेहरा स्थित हकिम मुसलमानलाई उनकै घरमा पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले बताए । यस अघि नै सो घटनामा सुद्धाधन गाउँपालिका ६ मनखोरियाका कपिलदेव लोनिया र सुशील कुमार लोनिया पक्राउ परेका थिए ।
जेठ १७ गते बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा कुकर बम जस्तो देखिने बस्तु फेला परेको थियो । कुकरमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको थियो । अभियुक्तलाई अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
प्रकाशित: १८ भाद्र २०८२ १८:१२ बुधबार





