काठमाडौं महानगरपालिका-२०, भीमसेनस्थान नजिकै सोमबार बिहानै भीषण आगलागी भएको छ। आगलागीका कारण चारवटा घर र एक मन्दिरमा क्षति पुगेको छ भने पाँच जनाको सकुशल उद्धार गरिएको छ।
काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन महाशाखाका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार भीमसेनस्थानस्थित दुईतले घरमा रहेको कपडाको गोदामबाट आगलागी सुरु भएको हो।
गोदाममा रहेका कपडा, कार्पेटजस्ता ज्वलनशील पदार्थ र ग्यास सिलिन्डर विस्फोट हुँदा आगोले भयावह रूप लिएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।
महाशाखा प्रमुख जोशीले भने, “आगो ९० प्रतिशत नियन्त्रणमा आएको छ, तर गोदाममा रहेका कपडाहरूका कारण पूर्ण रूपमा निभाउन अझै केही समय लाग्न सक्छ।”
बिहान ४:४१ बजे आगलागीको खबर प्राप्त हुनासाथ महानगरको पहिलो दमकल तीन मिनेटभित्रै ४:४५ मा घटनास्थल पुगेको थियो।

त्यसपछि काठमाडौं महानगरका थप, ललितपुर, भक्तपुर र नेपाली सेनाका समेत गरी छ वटा दमकल तथा पानीका ट्याङ्करहरू परिचालन गरिएको थियो।
स्थानीय सफाइकर्मीले बिहान फोहोर उठाउन आउँदा आगो देखेपछि तत्काल खबर गरेका थिए।
आगलागीमा फसेका दुई वयस्क र तीन बालबालिकासहित पाँच जनालाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको छ।
“नगरप्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीले स्थानीयसँग मिलेर मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो,” महाशाखा प्रमुख जोशीले भने।
आगलागीबाट एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने दुईवटा घरमा ५० प्रतिशतभन्दा बढी र अर्को एक घरमा २५ प्रतिशत क्षति पुगेको प्रारम्भिक अनुमान छ।
आगलागीले नजिकै रहेको एक निजी गुठीको मन्दिरमा पनि क्षति पुर्याएको छ। क्षतिको पूर्ण विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १३ आश्विन २०८२ १४:३२ सोमबार





